पोखरा, २९ वैशाख। लोकप्रिय स्ट्रिमिङ प्लेटफर्म नेटफ्लिक्सले आफ्नो मोबाइल एपमा छोटा भिडियो फिडसहितको नयाँ सुविधा परीक्षण गर्न थालेको छ। इन्स्टाग्राम रील्स तथा युट्युब सर्ट्स जस्तै स्वरूपमा डिजाइन गरिएको यस फिचरमा कृत्रिम बौद्धिकता (एआई) समावेश गरिएको खोज उपकरणसमेत प्रयोग गरिनेछ। नेटफ्लिक्सले आफ्नो पहिलो ‘प्रडक्ट एण्ड टेक’ इभेन्टमार्फत यी सुविधाहरू सार्वजनिक गर्दै प्रयोगकर्ताको अनुभवलाई अझ व्यक्तिगत र सहज बनाउने प्रयास गरिरहेको जानकारी दिएको छ।

नयाँ भर्टिकल भिडियो फिडमार्फत प्रयोगकर्ताहरू नेटफ्लिक्सका मूल फिल्म तथा श्रृंखलाहरूका छोटा क्लिपहरू स्क्रोल गर्दै हेर्न सक्नेछन्। उक्त फिडमा प्रयोगकर्ताले कुनै पनि सामग्रीलाई एक क्लिकमा हेर्न, ‘माई लिस्ट’ मा राख्न वा साथीहरूसँग सेयर गर्न सक्नेछन्। कम्पनीले यो सुविधा सामग्री खोजाईलाई रमाइलो बनाउँदै प्रयोगकर्तालाई आफूले मन पराउने कार्यक्रम छान्न सहज हुने अपेक्षा गरेको छ।

यसका साथै, नेटफ्लिक्सले संवादात्मक खोज प्रणालीको परीक्षण पनि थालेको छ, जुन अहिले आईओएस प्रयोगकर्ताहरूका लागि बीटा संस्करणमा उपलब्ध छ। प्रयोगकर्ताले “म केही उत्साही हेर्न चाहन्छु” जस्ता प्राकृतिक भाषा प्रयोग गरी सामग्री खोज्न सक्नेछन्, जुन सुविधा जेनेरेटिभ एआई प्रविधिबाट सञ्चालित हुनेछ।

होमपेजको संरचना पनि पूर्ण रूपमा परिवर्तन गरिँदैछ। अब प्रयोगकर्ताले “तपाईंको रोजाइ,” “आजका लागि सिफारिस” जस्ता व्यक्तिगत संग्रहहरू होमट्याबमै हेर्न सक्नेछन्। सामग्रीको आइकनमा “हालै थपिएको,” “पुरस्कार विजेता” जस्ता ट्यागहरूसमेत देखिनेछन्, जसले छान्न सहयोग पुर्‍याउनेछ।

त्यस्तै, एपको माथिल्लो भागमै “सर्च” र “माई लिस्ट” जस्ता सर्टकटहरू राखिने छन्, जसले सहज नेभिगेसनमा सहयोग पुर्‍याउने विश्वास गरिएको छ। कम्पनीले नयाँ होमपेज सफा र आधुनिक डिजाइनमा तयार पारिएको जनाउँदै, प्रयोगकर्ताको मुड र रोजाइअनुसार अनुकूल सिफारिस दिने उल्लेख गरेको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0