
पोखरा, २९ वैशाख। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्वदेशमै सवारीसाधन अनुमतिपत्र (लाइसेन्स) छाप्न सुरक्षण मुद्रण केन्द्रमार्फत तयारी अघि बढाएको छ। सोमबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाबीच भएको छलफलले यस विषयमा अनौपचारिक सहमति जनाएको मन्त्रालयले जनाएको छ।
उक्त छलफलमा सञ्चार सचिव राधिका अर्याल, यातायात सचिव केशवकुमार शर्मा र केन्द्रका अन्य अधिकारीहरूको उपस्थिति रहेको थियो। छलफलपछि सञ्चारमन्त्री गुरुङले लाइसेन्स छपाइ कार्य अत्यन्त संवेदनशील र राष्ट्रिय स्वाभिमानसँग जोडिएको उल्लेख गर्दै केन्द्रलाई प्रविधिसम्पन्न बनाइ कार्य अगाडि बढाइने बताए। उनले सुरक्षण मुद्रण केन्द्रको नियमित सञ्चालन मन्त्रालयको प्राथमिकतामा रहेको बताउँदै यसले देशभित्र रोजगारी र आयआर्जनको अवसरसमेत सिर्जना गर्ने विश्वास व्यक्त गरे।
यातायातमन्त्री दाहालले पनि सरकारले जनतालाई सस्तो, सुरक्षित र भरपर्दो सेवा दिनुपर्नेमा जोड दिँदै लाइसेन्स छपाइको कार्यमा सञ्चार मन्त्रालयसँग सहकार्य गरी चाँडै लिखित सम्झौता गरिने स्पष्ट पारे। सञ्चार सचिवसमेत रहेकी केन्द्रकी अध्यक्ष अर्यालले छलफलबाटै लाइसेन्स छपाइ सम्भव हुने निष्कर्षमा मन्त्रालय पुगेको जानकारी दिइन्।
केन्द्रका कार्यकारी निर्देशक ढुङ्गानाले छलफलमा उठेका विषयहरू सञ्चालक समितिको बैठकमा प्रस्ताव गरी सम्झौता गर्ने र छपाइ मिति तय गर्ने तयारी भइरहेको बताए। प्रारम्भिक छलफलले करिब ३० लाख लाइसेन्स छप्नसक्ने आँकलन गरिएको छ।
दुई वर्षअघि तत्कालीन कार्यकारी निर्देशकसहितको समूहमाथि भ्रष्टाचारको मुद्दा दर्ता भएपछि निष्क्रिय बनेको केन्द्रलाई पुनः सक्रिय बनाउन हालै ढुङ्गानालाई कार्यकारी निर्देशकमा नियुक्त गरिएको हो। मन्त्री गुरुङले हुलाक टिकट, राहदानी, राष्ट्रिय परिचयपत्रलगायत सबै सरकारी कागजात स्वदेशमै छापिने व्यवस्था मिलाउनुपर्ने आवश्यकता औंल्याउँदै अब छापाखानालाई पूर्ण प्रविधियुक्त बनाइने स्पष्ट पारे।
उनले यही वर्षभित्र लाइसेन्स छपाइ सुरु हुने जनाउँदै एक–दुई दिनभित्र यातायात मन्त्रालय र केन्द्रबीच सहमति भई बाँकी प्रक्रिया अघि बढाइने जानकारी दिए।



























