पोखरा, ३० वैशाख। पोखराको सिमलचौरमा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ अन्तर्गत वाचन प्रवीण पं. दिनबन्धु पोखरेलको सात दिवसीय प्रवचन आइतबारदेखि सुरु भएको छ। उनले आफ्नै झाँकी र संगीत समूहसहित जेठ ३ गतेसम्म नियमित रूपमा धार्मिक प्रवचन दिने कार्यक्रम रहेको आयोजकले जनाएको छ।
महायज्ञमा शनिबार वाल्मीकि श्री राम कथा वाचक आचार्य पं. पंराकुशजीको विदाईसँगै नयाँ चरणको प्रवचन प्रारम्भ भएको हो। महायज्ञको मूल उद्देश्य धार्मिक सहिष्णुता, आध्यात्मिक उन्नति र सांस्कृतिक एकता प्रवर्द्धन गर्नु हो। महायज्ञका संकल्पकर्ता बालयोगेश्वर विजयश्रीकृष्णमूर्ति जी महाराजले धर्म समन्वयको माध्यम हो भन्दै सबै धर्म एउटै मूलबाट निस्किएका जलधाराजस्तै हुन् भन्ने दृष्टिकोण प्रस्तुत गरेका छन्।
कोटिहोममा नियमित रूपमा सञ्चालित रक्तदान कार्यक्रमले सामाजिक सद्भाव र सहकार्यको नयाँ आयाम थपेको छ। आयोजकका अनुसार आइतबारसम्म दुई सयभन्दा बढीले रक्तदान गरिसकेका छन्। “महादान रक्तदान” को भावना लिएर सञ्चालन गरिएको यस अभियानले भक्तजनमा सहयोगी भावना जागृत गरिरहेको छ। महायज्ञ स्थलमा दैनिकजसो हुने रक्तदान कार्यक्रममा सहभागी हुन आयोजकले सबैलाई आग्रह गरेको छ।
बुद्ध पूर्णिमाको अवसर पारेर आज विशेष धार्मिक तथा सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको छ। कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन, सांसद किरण शाह लगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको छ। बौद्ध, हिन्दू, किरातलगायत सम्प्रदायका धर्मगुरुहरूको पनि उपस्थितिमा समारोह सम्पन्न भएको हो। उनीहरूले धार्मिक एकता र सहिष्णुताको सन्देशमूलक मन्तव्य दिएका छन्।
महायज्ञलाई थप आकर्षक बनाउन देशभरबाट आएका भजन समूहहरूको सहभागितामा भजन प्रतियोगिता सञ्चालन भइरहेको छ। हालसम्म ५५ समूहले आफ्नो प्रस्तुति दिइसकेको र तीन सयभन्दा बढी समूहले नाम दर्ता गराइसकेको आयोजकको भनाइ छ। विविध झाँकीसहित प्रस्तुत गरिएका भजनहरूले भक्तजनको मन जितिरहेको छ।
गण्डकी कोटिहोम विराट ज्ञान महायज्ञले पोखरा मात्र नभई सम्पूर्ण समाजमा धार्मिक सहिष्णुता, एकता र सेवाभावको प्रेरणादायी वातावरण सिर्जना गरेको देखिएको छ।
































