पोखरा, ३० वैशाख। पोखराको सिमलचौरमा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ अन्तर्गत आज बुद्ध पूर्णिमाको अवसरमा विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू भव्य रूपमा सम्पन्न भएका छन्। महायज्ञको आठौँ दिनमा १०० जना बटुकहरूको सामूहिक ब्रतबन्ध विधिपूर्वक सम्पन्न गरिनुका साथै हालसम्म करिब ५०० बटुकले यो संस्कार ग्रहण गरिसकेका छन्।
यसै अवसरमा १०० जना जेष्ठ नागरिकहरूको चौरासी पूजा गरिएको छ। वैदिक विधिअनुसार सम्पन्न चौरासी पूजामा दीर्घायु, स्वास्थ्य र समृद्धिको कामना गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले धर्मको नाममा राजनीति गर्नु आमाको रगत खानु सरह भएको टिप्पणी गर्दै धर्मलाई संकीर्णताको रूपमा नबुझी जीवनशैलीका रूपमा लिनुपर्नेमा जोड दिए। विशेष अतिथि किरात धर्मगुरु चन्द्रकुमार शेर्माले धार्मिक सहिष्णुता र समन्वयको महत्व प्रतिपादन गरे।
कार्यक्रममा प्रतिनिधि सभा अन्तर्गत महिला तथा सामाजिक मामिला समितिकी सभापति किरण कुमार शाहले संस्कार र धार्मिक चेतनाको प्रवर्द्धनमा कोटिहोमजस्ता यज्ञको महत्व विशेष रहेको बताइन्। उनले महिलाको सक्रिय सहभागिता सराहनीय रहेको पनि उल्लेख गरिन्। गण्डकी प्रदेश सरकारकी सचिव कमला दाहालले वृद्धवृद्धा, बालबालिका र अपांग व्यक्तिका लागि संरक्षित आवासका रूपमा आश्रम स्थापना गरिने जानकारी दिँदै सामाजिक उत्तरदायित्वप्रति सरकार प्रतिबद्ध रहेको बताइन्।
महायज्ञका संकल्पकर्ता बालयोगेश्वर विजयश्रीकृष्णमूर्ति महाराजले कास्कीमा १३ रोपनी जग्गामा ‘मामाघर आश्रम’ स्थापना गरिने योजना रहेको जानकारी गराउँदै यो महायज्ञले धर्म, राष्ट्र र मानवताको सुदृढीकरणमा योगदान पुर्याएको स्पष्ट पारे। उनका अनुसार धर्म समन्वयको माध्यम हो, विभाजनको कारण होइन।
महायज्ञमा आइतबारदेखि वाचन प्रवीण पं. दिनबन्धु पोखरेलले आफ्नै झाँकी र संगीत समूहसहित सात दिवसीय प्रवचन सुरु गरेका छन्, जुन जेठ ३ गतेसम्म सञ्चालन हुनेछ।
कोटिहोम परिसरमा सञ्चालन भइरहेको रक्तदान कार्यक्रममा सोमबार २८ यूनिटसहित हालसम्म २७५ यूनिट रगत संकलन भएको छ। प्रमुख अतिथि राजेन्द्र लिङ्देन स्वयंले पनि रक्तदान गरेका छन्। मानब सेवा फाउण्डेशनका प्रचार संयोजक लेखाराज ढकालका अनुसार सोमबार मात्रै २० हजारभन्दा बढी भक्तजनको उपस्थिति रहेको थियो।
गण्डकी प्रदेशका विभिन्न जिल्ला, भारत लगायत अन्य मुलुकबाट आएका श्रद्धालुहरूको सहभागिता रहेको विराट ज्ञान महायज्ञमा हिन्दू, बौद्ध, किरात लगायत धर्मसम्प्रदायका धर्मगुरुहरू, महात्मा र विद्वान्हरूको उपस्थिति समेत रहेको थियो।































