पोखरा, ३० वैशाख। संघीय संसदको दुवै सदनमा आजको बैठकमार्फत आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु हुँदैछ। प्रतिनिधि सभाको बैठक बिहान ११ बजेका लागि र राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजेका लागि तय गरिएको छ।

संघीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेयका अनुसार बैठकको कार्यसूचीमा बजेटका सिद्धान्त र प्राथमिकताका विषयमा (कर प्रस्ताव बाहेक) छलफल प्रारम्भ हुने उल्लेख गरिएको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यही वैशाख २८ गते प्रतिनिधि सभामा आगामी वर्षको विनियोजन विधेयकका आधारभूत सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए।

सोही दिन सरकारले संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भइसकेको छ। नेपालको संविधान अनुसार सरकारले जेठ १५ गतेभित्र आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ। यसैअनुरूप सरकार बजेटको तयारीमा जुटेको छ।

संघीय संसदको चालु अधिवेशनलाई बजेट अधिवेशनका रूपमा लिइएको छ, जसअनुसार अर्थ मन्त्रालय, संसद् सचिवालय तथा सम्बन्धित निकायहरू तीव्र रूपमा कार्ययोजना कार्यान्वयनमा लागेका छन्। आजको छलफलपछि बजेट निर्माण प्रक्रियाले गति लिने विश्वास गरिएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0