पोखरा, ३० वैशाख। चौथो पटक प्रधानमन्त्री बनेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पद सम्हालेसँगै सार्वजनिक रूपमा गरेका प्रतिबद्धता पूरा गर्न नसकेपछि सत्ता साझेदार दलहरूबीच असन्तुष्टि चुलिएको छ। कीर्तिपुरस्थित क्रिकेट मैदानमा फ्लडलाइट र प्याराफिट जडान गर्ने प्रतिबद्धता ३०० दिनभित्र सक्ने भनेर गत वर्ष असार ३१ मा घोषणा गरेका ओलीले लक्ष्य पूरा हुन तीन दिन बाँकी रहँदा कार्य सम्पन्न नभएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन्।
उक्त परियोजना पूरा नहुनुको दोष ओलीले सहरी विकास मन्त्रालय र निर्माण कम्पनीलाई दिए पनि कार्यकारी प्रमुखको हैसियतमा आफ्नै जवाफदेहीता स्वीकार नगर्नु गैरजिम्मेवार रहेको आलोचकहरूको ठम्याइ छ। उक्त मन्त्रालय कांग्रेस नेतृत्वमा रहेको र ठेकेदार चयन तथा अनुगमनमा सरकारकै भूमिका हुने हुँदा दोषमुक्त हुन नसकिने भन्दै कांग्रेस नेताहरू असन्तुष्ट देखिएका छन्।
यही प्रसंगमा प्रधानमन्त्री ओलीले सार्वजनिक कार्यक्रमहरूमा कांग्रेस नेताहरूप्रति आक्रोश पोख्दै आएका छन्। विशेषतः कांग्रेस महामन्त्री गगन थापासँगको बहस र सार्वजनिक आलोचनाले सत्ता साझेदारबीचको सम्बन्धमा चिसोपन थपिएको छ। एमाले महासचिव शंकर पोखरेल, सांसद सूर्य थापा र गोकुल बास्कोटाजस्ता नेताहरूले कांग्रेस पनि सरकारको कमजोरीको हिस्सेदार भएको खुलेर बताएका छन्।
गत २१ वैशाखमा बसेको एमाले सचिवालय बैठकमा पार्टी अध्यक्ष ओलीले कांग्रेसभित्र देखिएको सरकारी असन्तुष्टिलाई राजनीतिक रणनीतिसँग जोड्दै आलोचना गरेका थिए। सात बुँदे सहमति अनुसार सरकार सञ्चालन भइरहेको अवस्थामा सफलताको श्रेय एक पक्षले मात्रै लिने र असफलताको दोष अर्कालाई दिने प्रवृत्ति एमालेका नेताहरूले अस्वीकार्य ठहर गरेका छन्।
भविष्यको चुनावी रणनीति र गठबन्धनको स्थायित्वलाई ध्यानमा राखेर शुरुमा सन्तुलन कायम गर्न खोजिए पनि पछिल्लो समय सत्ता साझेदार दलहरूबीच आपसी अविश्वास र दोषारोपणको वातावरण गहिरिँदै गएको देखिन्छ।































