पोखरा, ३० वैशाख। भारतको अरुणाञ्चल प्रदेशमा जारी साफ यू–१९ च्याम्पियनसिप अन्तर्गत समूह बीको अन्तिम खेलमा नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दैछ। समूहको दोस्रो तथा निर्णायक खेल नेपाली समयअनुसार बेलुका ७:४५ बजे गोल्डेन जुब्ली स्टेडियम, युपियामामा सुरु हुने तय भएको छ।

यसअघि नै समूह चरण पार गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका नेपाल र भारतबीचको भिडन्तले समूह विजेताको टुङ्गो लगाउनेछ। दुबै टोलि समान एक खेलमा विजय हासिल गर्दै अन्तिम चारमा प्रवेश गरिसकेका छन्। भारतले पहिलो खेलमा श्रीलंकालाई प्रभावशाली प्रदर्शन गर्दै ८–० ले पराजित गरेको थियो भने नेपालले पनि श्रीलंकामाथि ५–० को सहज जित निकाल्दै सेमिफाइनल यात्रा तय गरेको थियो। यसै क्रममा श्रीलंका भने लगातार दुई हारसँगै प्रतियोगिताबाट बाहिरिसकेको छ।

यू–१९ उमेर समूहको यस प्रतियोगितामा भारत तीन पटक च्याम्पियन बनेको छ भने नेपालले दुई पटक उपाधि जितेको छ। सन् २०१५ मा सुरु भएको प्रतियोगिताको सुरुवाती दुई संस्करण नेपालले नै जितेको भए पनि त्यसयता उसले उपाधिमा पुनरावृत्ति गर्न सकेको छैन। यसपटक भने टोलीले सशक्त सुरुआत गर्दै उपाधि दौडमा आशाजनक स्थान बनाइसकेको छ।

समूह ए तर्फ साविक विजेता बंगलादेशले सेमिफाइनल स्थान पक्का गरिसकेको छ भने अर्को स्थानका लागि भुटान र माल्दिभ्सबीचको प्रतिस्पर्धा आज दिउँसो ४:१५ बजे सुरु हुनेछ। उक्त खेलको नतिजाले समूह ए को दोस्रो सेमिफाइनलिस्टको टुङ्गो लगाउनेछ।

आजको नेपाल–भारत भिडन्तले समूह बी को शीर्षस्थान निर्धारण गर्नुका साथै उपाधि दावेदार टोलीको मनोबललाई थप सुदृढ पार्ने विश्वास गरिएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0