पोखरा, ३१ वैशाख। भारत र पाकिस्तानबीचको पछिल्लो सैन्य तनावका क्रममा पाकिस्तानले आफ्ना ११ जना सैनिक गुमाएको पुष्टि गरेको छ। पाकिस्तान सेनाको जनसम्पर्क शाखा आईएसपीआरले मंगलबार सार्वजनिक गरेको विज्ञप्तिमा गत साता भारतसँगको भिडन्तमा ११ सैनिकको मृत्यु भएको र ७८ जना घाइते भएको जानकारी दिइएको हो।

यस सैन्य तनावको सुरुवात भारतले पाहलगाममा भएको आक्रमणको दोष पाकिस्तानमाथि लगाएको आरोपपछि भएको हो। त्यसको जवाफस्वरूप भारतले मे ६–७ को राति ‘अपरेसन सिन्दूर’ नामक हवाई आक्रमण पाकिस्तानको सीमाभित्र गर्‍यो। पाकिस्तानले यस आक्रमणलाई ‘कायरतापूर्ण’ भन्दै कडा प्रतिरोध गरेको जनाएको छ।

पाकिस्तानी सेनाले आफ्ना मृतक सैनिकहरूको नाम सार्वजनिक गर्दै उनीहरूको बलिदानको सम्मान गरिएको जनाएको छ। मृतकमध्ये नायक, लान्स नायक, सिपाहीदेखि लिएर वायु सेनाका स्क्वाड्रन लिडर र प्राविधिक तहका सदस्यहरू सम्म छन्।

भारतको आक्रमणमा ४० जना पाकिस्तानी नागरिकको पनि ज्यान गएको पुष्टि गरिएको छ, जसमा ७ महिला र १५ बालबालिका रहेका छन्। यस्तै, १२१ जना सर्वसाधारण घाइते भएका छन्।

भारत र पाकिस्तानबीच एक साता लामो मिसाइल आक्रमण चलेको बताइएको छ। यो तनाव चरम अवस्थामा पुगेपछि शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा युद्धविराम घोषणा गरिएको थियो।

पाकिस्तानी सञ्चारमाध्यम डनका अनुसार युद्ध रोक्ने सहमति अमेरिकी हस्तक्षेपपछि भएको हो। यस सैन्य झडपले दुई देशबीचको सम्बन्ध पुनः चिसिँदो अवस्थामा पुगेको आकलन गरिएको छ।

दुबै देशले एकअर्कालाई दोषारोपण गरिरहेकै बेला मानवीय र सैन्य क्षति भयावह बन्दै गएको छ। युद्धविराम भए पनि सीमामा स्थिति संवेदनशील रहेको विश्लेषकहरू बताउँछन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0