पोखरा, २ जेठ। जननेता मदन भण्डारी र जीवराज आश्रितको ३२ औं स्मृति दिवसको अवसरमा मदन भण्डारी फाउन्डेसन कास्कीले विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ। आगामी जेठ २ गते पोखराको साइमन पार्टी प्यालेसमा बिहान ११ बजे सुरु हुने कार्यक्रममा मार्गदर्शन भाग २ को विमोचन तथा भाग १ को परिचर्चा गरिने फाउन्डेसनका अध्यक्ष माधव बास्तोलाले जानकारी दिएका छन्।
उक्त कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवाली प्रमुख अतिथिको रूपमा सहभागी हुनेछन् भने पार्टीका उपमहासचिव तथा हालका सूचना, संचार तथा प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ विशेष अतिथि रहनेछन्। स्मृति दिवसको अवसरमा आयोजित यस कार्यक्रममार्फत जननेता भण्डारीका विचार, मार्गदर्शन र सिद्धान्तलाई थप स्पष्ट पार्दै वर्तमान राजनीतिक सन्दर्भमा त्यसको सान्दर्भिकतालाई जोड दिने प्रयास गरिने जनाइएको छ।
फाउन्डेसनले प्रकाशित गरेको मार्गदर्शन भाग १ मा समेटिएका विचार र सन्देशहरूमा केन्द्रित परिचर्चा कार्यक्रमबाट नयाँ पुस्तालाई भण्डारीका आदर्शसँग जोड्ने उद्देश्य लिइएको छ। अध्यक्ष बास्तोलाले स्मृति दिवसलाई केवल श्रद्धाञ्जलीको रुपमा सीमित नराखी विचारको अभ्यास र व्याख्याको माध्यमबाट योगदान पुर्याउने प्रयास स्वरूप कार्यक्रम आयोजना गरिएको बताए।
राजनीतिक विमर्शको सन्दर्भमा विचार, मूल्य र दिशानिर्देशन आवश्यक रहेको वर्तमान समयसन्दर्भमा यस्तो कार्यक्रममा बहस र परिचर्चा हुनु सकारात्मक संकेतको रूपमा हेरिएको छ।































