पोखरा, २ जेठ। पृथ्वीनारायण क्याम्पस, पोखराका उपप्राध्यापक डा. देवीलाल शर्मा जातीय विभेदको घटनामा मुछिएपछि कारबाहीमा परेका छन्। क्याम्पस प्रमुख डा. हरिप्रसाद पाठकले उनलाई व्यवस्थापन अनुसन्धान विभाग प्रमुखको जिम्मेवारीबाट हटाएका हुन्। शर्माले एमबीए वित्ततर्फको शैक्षिक अवलोकन भ्रमणका क्रममा विद्यार्थी अमन परियारमाथि अपमानजनक शब्द प्रयोग गर्दै जातीय विभेदजन्य व्यवहार देखाएको आरोप लागेपछि उक्त निर्णय गरिएको हो।

घटनापछि दलित विद्यार्थी समाजलगायत स्वतन्त्र विद्यार्थी युनियन, अनेरास्ववियु र तराई कानुन विद्यार्थी संघले क्याम्पस प्रमुखको ध्यानाकर्षण गराएका थिए। दलित विद्यार्थी समाजका अध्यक्ष अमृत विकले शैक्षिक संस्थामा बारम्बार जातीय विभेदका घटना हुनु आपत्तिजनक भएको भन्दै डा. शर्मालाई बर्खास्त गर्न माग गरेका छन्। समाजले घटनाको विरोधमा सार्वजनिक विज्ञप्ति समेत जारी गरेको छ।

क्याम्पस प्रमुख पाठकले डा. शर्मालाई विशेष परिस्थितिका कारण विभाग प्रमुखको जिम्मेवारीबाट हटाइएको उल्लेख गर्दै पत्र दिएका छन्। वैशाख २६ गते विभाग प्रमुखको जिम्मेवारी सम्हालेका शर्मालाई पाँच दिनमै हटाइएको हो। क्याम्पसमा जातीय समानता र मर्यादित शिक्षण वातावरण कायम राख्न विद्यार्थीहरूले थप कडा कदम चाल्न आग्रह गरेका छन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0