पोखरा, २ जेठ। पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञअन्तर्गत आयोजना गरिएको राष्ट्रिय भजन प्रतियोगिता भक्तजनलाई कोटिहोममा जोड्ने सशक्त माध्यम बनेको छ। देशका विभिन्न भागबाट सहभागी भजन समूहले गायनको माध्यमबाट आस्था अभिव्यक्त गर्नुका साथै महायज्ञस्थलमा दर्शन, दान र पूजाआजा गर्दै धार्मिक भावनाको उदात्त प्रदर्शन गरेका छन्।
प्रतियोगितामा पूर्व रसुवा देखि पश्चिम महेन्द्रनगरसम्मका ३०५ भजन समूहको सहभागिता रहेको र प्रतियोगितामा ७ वर्षदेखि ९७ वर्षसम्मका श्रद्धालुहरूको उत्साहजनक उपस्थिति देखिएको संयोजक प्रजापति पराजुलीले जानकारी दिए। भजन गायनमार्फत सांस्कृतिक र धार्मिक सम्पदाको संरक्षणमा योगदान पुर्याउने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा रैथाने भजन, ठाडो खैँजडी, देउडा शैलीका परिमार्जित धार्मिक भजनहरू प्रस्तुत गरिएको छ।
महायज्ञमा चर्चित कलाकारहरूको समेत सहभागिता रहेको छ। गायक राजु ढकाल, रमेश सापकोटा, देउडा गायक नन्दकृष्ण जोशी, हास्यकलाकार पल्पसा डङ्गोल ‘चम्सुरी’ तथा लोक गायिका राधिका हमाल र एलिना चौहानको प्रस्तुति कोटिहोमलाई अझ प्रभावशाली बनाएको छ। ५ सयभन्दा बढी बसमार्फत भक्तजनहरूको सहभागिता हुने र आगामी दिनहरूमा झाँकी, देव लीला र विभिन्न जातजातिका सांस्कृतिक प्रस्तुति हुने कार्यक्रम संयोजकले जनाएका छन्।
भजन प्रतियोगिताका विजेताहरूलाई आकर्षक पुरस्कार प्रदान गरिनेछ। प्रथम हुने समूहलाई ३ लाख ५५ हजार ५५५, दोस्रोलाई २ लाख ५५ हजार ५५५, तेस्रोलाई १ लाख ५५ हजार ५५५ तथा दुई समूहलाई जनही ६५ हजारको सान्त्वना पुरस्कार दिइनेछ। साथै ११ विधामा जनही २५ हजार ५२५ रुपैयाँका पुरस्कारको व्यवस्था गरिएको छ।
कोटिहोममा कोटी दीप प्रज्वलन, तुला दान, रुद्राभिषेक, चौरासी पूजन, पार्थिव शिवलिङ्ग निर्माण, १८ पुराण, ४ वेद, १०८ श्रीमद्भागवत पाठ श्रवण जस्ता पुण्यमयी कर्मको समेत आयोजना गरिएको छ। वाचन प्रवीण पं. दिनबन्धु पोखरेलदेखि देवी प्रतिभा, प्रशान्त कृष्ण परांकुशलजस्ता विद्वान वाचकहरूको प्रवचनले महायज्ञको गरिमा अझ बढाएको छ।
मानव सेवा फाउन्डेसनको आयोजनामा सम्पन्न महायज्ञको मूल उद्देश्य धार्मिक आस्था जागरण, सामाजिक एकता सुदृढीकरण र सनातन संस्कृतिको जगेर्ना गर्नु रहेको छ। पोखराको सदाशिवजी सिद्धेश्वर हरिहर मन्दिर परिसरमा निर्माण गरिएको कोटिहोम जेठ २६ गतेसम्म सञ्चालन हुनेछ।































