पोखरा, ३ जेठ। देशभर फेरि विद्युत् आपूर्तिमा अनियमितता देखिएपछि उपभोक्ताहरू हैरानीमा परेका छन्। बिहीबार र शुक्रबार देशका विभिन्न भागमा पटक–पटक बत्ती जाने समस्या देखिएको छ। राजधानी सिंहदरबारभित्रै शिक्षा उपसमितिको बैठक मोबाइलको टर्चको उज्यालोमा गर्नुपर्ने अवस्था आउनुले स्थिति गम्भीर भएको देखिएको छ। पूर्व शिक्षामन्त्रीसमेत रहेकी सांसद सुमना श्रेष्ठले सामाजिक सञ्जालमार्फत मोबाइलको बत्तिमा बैठक सञ्चालनको तस्बिर सार्वजनिक गरेकी छन्।
नेपाल विद्युत् प्राधिकरणले मौसम र प्राविधिक कारण देखाएर जिम्मेवारी पन्छाउन खोजेपनि, उपभोक्ताहरूले नेतृत्व परिवर्तनपछि विद्युत् आपूर्तिमा देखिएको चरम अव्यवस्थालाई शंकाको दृष्टिले हेरेका छन्। गत चैत ११ गते कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्ती र हितेन्द्रदेव शाक्यको नियुक्तिपछि प्राधिकरणभित्र सरुवासम्बन्धी निर्णयले व्यवस्थापन क्षमतामाथि प्रश्न उठेको छ।
ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमा भारततर्फ आएको फल्ट, चट्याङ, हावाहुरी तथा प्रसारण पूर्वाधारको कमजोरी विद्युत् अवरुद्ध हुनुका कारण बताइए पनि, पूर्व तयारी र वैकल्पिक उपायको अभावले स्थिति बिग्रिएको स्पष्ट देखिन्छ। प्राधिकरणको प्रवक्ता राजाभाई श्रेष्ठले प्रसारण लाइन र सबस्टेशनहरू उच्च क्षमतामै सञ्चालन भइरहेकाले सानो समस्याले ठूलो असर पार्ने गरेको स्वीकारे। तर, अधिकारीहरूले यसपटकको लोडसेडिङ विगतका समस्याभन्दा बढी समय लिएको र यसमा ‘मिस म्यानेजमेन्ट’ देखिएको बताए।
व्यवसायी, विद्यार्थी र सर्वसाधारण सबै प्रभावित भइरहेका छन्। अनामनगरमा किराना पसल चलाउने शान्ति विश्वकर्माले व्यापारमा असर परेको बताइन् भने, पोखराको पिएन क्याम्पसकी छात्रा संगीताले रातिको पढाइ बत्ती नहुँदा प्रभावित भएको गुनासो गरिन्।
कार्यकारी निर्देशक शाक्यले भने यो समस्या व्यवस्थापनको नभई विशुद्ध प्राविधिक रहेको बताउँदै दीर्घकालीन समाधानमा समय लाग्ने स्पष्ट पारेका छन्। तर, सर्वसाधारणलाई त्यसको व्याख्या भन्दा व्यावहारिक समाधान अपेक्षित देखिन्छ।































