पोखरा, ३ जेठ। पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भक्तजनको उपस्थिति दिनप्रतिदिन बढ्दै गएको छ। केही दिनदेखि लगातार वर्षा भइरहेको बाबजुद पनि भक्तजनहरूको उत्साह र समर्पणले यस स्थलको वातावरणलाई उल्लासमय बनाइरहेको छ। आयोजकका अनुसार भोलि (शनिबार) ३३ जिल्लाबाट भक्तजन आएकाले कोटिहोममा भक्तिमय वातावरण थप उच्च स्तरमा पुग्ने अपेक्षा गरिएको छ।
महायज्ञका सङ्कल्पकर्ता वाल योगेश्वर विजय श्रीकृष्ण मूर्तिजीले बताउनुभयो कि भोलि मात्र एकै दिनमा करिब एक लाख भक्तजनले उपस्थिति जनाउने अनुमान गरिएको छ। उनले थपे कि देशभरबाट ५ सय बढी बसमार्फत भक्तजनको आगमन हुँदा कोटिहोमको थलो भक्तिजनमा रमाउँदै, प्रवचन, सांस्कृतिक झाँकी र अनुष्ठानमार्फत आफ्नो आस्था अभिव्यक्त गर्ने केन्द्र बन्नेछ।
प्रचार प्रसार संयोजक लेखराज ढकालका अनुसार, भोलि सुमेरु पीठाधीश्वर जगद्गुरु शंकराचार्य स्वामी श्री नरेन्द्रानन्द सरस्वती महाराज र अनन्त श्री विभूषित १००८ महामण्डलेश्वर वाल सन्त आचार्य स्वामी रामेश्वरानंद सरस्वती महाराज आऊने छन्। जगद्गुरु शङ्कराचार्य र वाल सन्त आचार्यले जेठ ३ गतेदेखि ५ गतेसम्म पोखरामै रहँदै कोटिहोममा प्रवचन गर्ने व्यवस्था गरिएको छ जसले भक्तजनलाई आध्यात्मिक ज्ञान र मार्गदर्शन प्राप्त हुने अवसर प्रदान गर्नेछ।
हालै चर्चित गायिका एलिना चौहान र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका लोक गायिका तथा फाउन्डेसनकी केन्द्रीय उपाध्यक्ष राधिका हमालका प्रस्तुति दिए पछि आज भक्तजनहरूमा उर्जा झल्किएका छन्। भोलि देउडा गायक नन्द कृष्ण जोशी, भजन गायक रमेश सापकोटा, लोकदोहोरी गायक राजु ढकाल, हास्य कलाकार मेरी वास्यैकी पल्पसा डङ्गोल ‘चम्सुरी’ र महानायक राजेश हमालको तालमेलले महायज्ञमा रमाइलो वातावरण सृजना गर्नेछन्।
यस अतिरिक्त, जेठ ११ गते ‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ शीर्षक राष्ट्रव्यापी खुला वक्तृत्वकला प्रतियोगिता हुने जानकारी समेत छ जहाँ बाँके, बर्दिया, जुम्ला, पर्वत, स्याङ्जा, कास्की, नवलपुर, वाग्लुङ, लमजुङ, चितवन, काठमाण्डौं, तनहुँ, धादिङ, म्याग्दी लगायतका जिल्लाबाट नाम दर्ता भइसकेका छन्।
कोटिहोममा राष्ट्रिय भजन प्रतियोगिता र रक्तदान कार्यक्रम पनि चलिरहेको छ। महायज्ञमा गत वैशाख २७ गतेदेखि वाचन प्रवीण पं. दिनबन्धु पोखरेलले आफ्नै झाँकी र सङ्गीत समूह सहित प्रवचन जारी राखेका छन् र जेठ ३ गतेसम्म सात दिन कथा वाचन गर्ने कार्यक्रम रहेको छ। साथै, अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभा, व्यासाचार्य प्रशान्त कृष्ण परांकुशल लगायत साधु-सन्तहरुले कथा वाचन गरिसकेका छन्।
धर्म, संस्कृति र सामाजिक एकता प्रदर्शन गर्ने यस महायज्ञले चौरासी पूजन, सवा करोड पार्थिव शिवलिङ्ग निर्माण, १८ पुराण, ४ वेद तथा १०८ श्रीमदभागवत पाठ पारायण श्रवणजस्ता पुण्यमयी कर्मका कार्यक्रमहरूसँगै, भूमि पूजन, पितृ उद्धार, तुला दान, शुभ विवाह कार्यक्रम, रुद्राभिषेक, अति रुद्री, लुघुरुद्री आदिको आयोजना समेत गरेर भक्तजनलाई अतुलनीय आशीर्वाद तथा श्रद्धाका साथ सहभागी गराउने अवसर प्रदान गरेको छ।
पोखरा १७ स्थित सदाशिवजी सिद्धेश्वर हरिहर मन्दिर परिसरमा सञ्चालन भइरहेको कोटिहोम जेठ २६ गतेसम्म जारी रहने हुँदा यस धार्मिक महोत्सवले पोखरालाई मात्र नभई सम्पूर्ण गण्डकी प्रदेश र देशभरका आस्थावानहरूको मनमा अमिट छाप छोड्ने अपेक्षा गरिएको छ।































