पोखरा, ३ जेठ। संघीय सांसद डा. अमरेशकुमार सिंहले बजेटको असमान र पक्षपाती वितरणप्रति गम्भीर आपत्ति जनाउँदै जनस्तरमा व्यापक असन्तोष बढ्दै गएको बताएका छन्। शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सत्तारूढ दलका शीर्ष नेताहरूको पहुँचको आधारमा बजेट बिनियोजन हुने परिपाटी स्थापित हुँदै गएकोप्रति चिन्ता व्यक्त गरे।

उनले भने, “देशमा बजेट वितरण पहुँच र सम्बन्धको आधारमा हुँदै गएको छ। कसैलाई एकै निर्वाचन क्षेत्रमा अर्बौँको बजेट जान्छ, भने अर्कोतिर सत्ता पक्षकै सांसद भएको जिल्लामा दश करोड पनि पुग्दैन।” उनले यसरी वितरित बजेटले राष्ट्रिय समावेशिता र न्यायको भावनामा आँच पुर्‍याएको टिप्पणी गरे।

सिंहले डडेल्धुरामा जन्मिएको एक नेताको निर्वाचन क्षेत्रमा बारम्बार अर्बौँको बजेट खन्याइने उदाहरण दिँदै, यसरी सत्ता र शक्तिको भरमा हुने विभेदकारी वितरणले लोकतन्त्रमा जनताको भरोसा कमजोर हुने बताए। उनले बजेट वितरणको यस्तो प्रवृत्तिलाई तत्काल सच्याउन सरकारलाई आग्रह गर्दै भने, “यो विषय संसद् भित्रै सीमित रहने हो भने जनतामा चर्को असन्तोष उत्पन्न भएर सडकमा आउने खतरा छ।”

उनले बजेट निर्माण र कार्यान्वयनको प्रक्रिया पारदर्शी, निष्पक्ष र समावेशी बनाउनुपर्नेमा जोड दिंदै, सबै क्षेत्र र समुदायलाई समान रूपमा प्राथमिकतामा राख्नुपर्ने सुझाव पनि दिएका छन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0