पोखरा, ३ जेठ। पोखरा जेसीजको आयोजनामा “जेसिज सप्ताहन्त–२०२५” नामक कार्यक्रम जेठ ३ गते शनिबारदेखि जेठ ६ गते मंगलबारसम्म विविध सामाजिक र शैक्षिक क्रियाकलापसहित मनाइने भएको छ। बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिइएको हो।
जेसीआई पोखराका अध्यक्ष जेसी भाइराज राना मगरका अनुसार कार्यक्रमको पहिलो दिन माछापुच्छ्रे गाउँपालिकाको भेंडाबारी स्वास्थ्य चौकीमा हिमालय आँखा अस्पतालको सहकार्यमा निःशुल्क बृहत आँखा परीक्षण शिविर सञ्चालन गरिनेछ। शिविरबाट भेंडाबारी, ल्वाङघलेल, रिभान र लाहाचोकका करिब २५० स्थानीय बासिन्दाले सेवा लिने अपेक्षा गरिएको छ। स्वास्थ्य सचेतनालाई प्रमुख उद्देश्यका रूपमा लिएको सो शिविरले समाजमा जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउने आशा गरिएको अध्यक्ष रानाले जानकारी दिए।
सप्ताहको दोस्रो दिन पोखरा–१७ मा टोल विकास संस्था, आमा समूह र युवा क्लबका प्रतिनिधिहरूलाई माइनुट लेखन तथा वित्तीय साक्षरता सम्बन्धी तालिम प्रदान गरिनेछ। ग्लोबल आइएमई बैंक लिमिटेडसँगको सहकार्यमा गरिने उक्त तालिमबाट करिब ५० जना लाभान्वित हुनेछन्।
तेस्रो दिन अन्नपूर्ण गाउँपालिकास्थित प्रगतिशिल माध्यमिक विद्यालयका १८० विद्यार्थीहरूलाई शैक्षिक सामग्री, खेलकुद सामग्री र पोशाक (टिसर्ट) वितरण गरिनेछ। राष्ट्रिय वाणिज्य बैंकको सहकार्यमा सञ्चालन हुने कार्यक्रमको उद्देश्य विद्यार्थीहरूमा सिर्जनात्मकता तथा रचनात्मकताको विकास गर्नु रहेको छ।
अन्तिम दिन पोखरा उद्योग वाणिज्य संघको सहकार्यमा “आर्थिक विकास समृद्धिको आधार, वर्तमान परिस्थिति, सम्भावना र चुनौती” विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरिनेछ।
पोखरा जेसीज सन् १९७५ मा पोखरा–११, रानीपौवामा स्थापना भएको हो। जुनियर च्याम्बर इन्टरनेशनल (JCI) अन्तर्गतको नेपाल जेसीजको शाखा स्वरूप, पोखरा जेसीजले स्थापना कालदेखि नै युवाको नेतृत्व विकास र सामाजिक योगदानमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। नेपालमा १८८ शाखा तथा विश्वभर १२५ भन्दा बढी राष्ट्रमा फैलिएको JCI सञ्जालमार्फत पोखरा जेसीजले हजारौं युवालाई समाज सेवा र नेतृत्वको अवसर प्रदान गर्दै आएको छ।































