पोखरा, ३ जेठ। गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार केशव पाठक र दुर्गा अधिकारी सम्मानित भएका छन्। नेपाल पत्रकार महासंघ कास्कीले स्वर्गीय गजेन्द्र भण्डारीको ७२ औँ जन्मजयन्तीको अवसर पारेर आयोजित विशेष समारोहमा वर्ष २०८१ का लागि पाठक र २०८२ का लागि अधिकारीलाई सम्मान गरिएको हो।
गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले दुबै पत्रकारलाई जनही २५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरे। उनीहरू दुई दशकभन्दा बढी समयदेखि नेपाली पत्रकारितामा सक्रिय छन्। पाठक पोखरा स्पोट्स अनलाइनका सम्पादक हुन् भने उनले यसअघि पनि राष्ट्रिय तथा प्रदेशस्तरीय खेल पत्रकारिता पुरस्कारहरू प्राप्त गरिसकेका छन्। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेश र युवा तथा खेलकुद मन्त्रालयद्वारा प्रदान गरिएका पुरस्कारहरूले उनको योगदानलाई पहिचान दिइसकेका छन्।
त्यस्तै, दुर्गा अधिकारी रेडियो सफलता १०३.४ मेगाहर्जमा आबद्ध रहँदै पत्रकारितामा सक्रिय छिन्। उनी वानका केन्द्रीय उपाध्यक्ष र महिला पत्रकार संघ गण्डकी प्रदेशकी पूर्व अध्यक्ष समेत हुन्। समाजशास्त्र र सञ्चारमा स्नातकोत्तर गरेकी अधिकारी राष्ट्रपतिबाट जनसेवाश्री पञ्चमबाट विभूषित भइसकेकी छन्। उनी विभिन्न प्रतिष्ठित पत्रकारिता पुरस्कारहरूबाट सम्मानित भइसकेकी छन्।
यो पुरस्कार कार्यक्रम पत्रकार गजेन्द्र भण्डारीको स्मृतिमा स्थापना गरिएको हो, जसको अक्षयकोष ४ लाख रुपैयाँ पुर्याइएको छ। समारोहमा बोल्दै प्रदेश प्रमुख भट्टले लोकतन्त्र र गणतन्त्र स्थापनामा पत्रकारिताको महत्वपूर्ण योगदान स्मरण गर्दै डिजिटल युगमा पत्रकारिताको विश्वसनीयता जोगाउन पत्रकार स्वयं उत्तरदायी हुनुपर्ने बताए।
महासंघ कास्कीका पूर्व अध्यक्ष माधव शर्माले सृजनशीलता र निर्भीकता पत्रकारिताको मुटु भएको उल्लेख गर्दै स्वतन्त्रताको सीमालाई संयमतासँग बुझ्नुपर्ने बताए। गण्डकी अध्यक्ष रमेश पौडेलले राज्यले पत्रकारिता क्षेत्रको मूल्याङ्कन गरे पनि पर्याप्त बजेट नछुट्याएको भन्दै गुनासो व्यक्त गरे।
समारोहमा प्रतिभा छनोट समितिका संयोजक दीपेन्द्र श्रेष्ठले सम्मानित पत्रकारहरूको योगदानबारे प्रकाश पारेका थिए। सम्मानित पत्रकार पाठक र अधिकारीले सम्मानले आफूहरूलाई थप ऊर्जा र प्रेरणा दिएको भन्दै आभार प्रकट गरे। कार्यक्रम महासंघ कास्की अध्यक्ष माधव बरालको अध्यक्षता, उपाध्यक्ष माधव रेग्मीको स्वागत मन्तव्य र सचिव भूपाल गुरुङको सञ्चालनमा सम्पन्न भएको थियो।































