पोखरा, ४ जेठ। संघीय संसद्को प्रतिनिधिसभा आज बिहान ११ बजे बस्दैछ। आजको बैठकमा नागरिक उड्डयन क्षेत्र र स्वास्थ्य शिक्षा सम्बन्धी तीन महत्वपूर्ण विधेयकमाथि छलफल हुने कार्यक्रम तय भएको छ।

संघीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेका अनुसार आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ तथा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ। यी दुवै विधेयकले नेपालको हवाई सेवामा सुधार, व्यावसायिकता र सुरक्षा अभिवृद्धिको उद्देश्य लिएको बताइएको छ।

त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले राष्ट्रियसभाबाट उत्पत्ति भएको ‘दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ माथि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहित छलफल गरियोस् भन्ने प्रस्ताव संसद्मा पेस गर्ने छन्। उक्त विधेयकमाथि छलफलपछि पारित गर्ने सम्भावनासमेत रहेको सचिवालयले जनाएको छ।

आज प्रस्तुत हुने विधेयकहरू शिक्षासम्बन्धी संरचना विस्तार, स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि तथा हवाई सेवामा पूर्वाधार निर्माण र नियमनलाई सुदृढ पार्ने दिशामा महत्वपूर्ण कदम हुने विश्वास गरिएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0