पोखरा, ४ जेठ। राजावादी धारका दल तथा अभियानहरूको समन्वयमा गठन भएको संयुक्त जनआन्दोलन समितिले आगामी जेठ १५ गतेदेखि सुरु हुने राजधानी केन्द्रित आन्दोलनको तयारी तीव्र पारेको छ। समितिका संयोजक नबराज सुवेदीको नेतृत्वमा सक्रिय यो गठबन्धनले आन्दोलनमा जनसहभागिता बढाउन काठमाडौं उपत्यका केन्द्रित पाँचदिने जनजागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।

धुम्बाराहीस्थित राप्रपाको केन्द्रीय कार्यालयमा बसेको बैठकले साँखुबाट सुरु हुने अभियान काठमाडौंका काँठ क्षेत्र हुँदै ललितपुरबाट भक्तपुरको चाँगुनारायणमा पुगेर समापन गर्ने कार्यक्रम तय गरेको हो। अभियानको कार्यान्वयन प्रभावकारी बनाउन एक कार्यदल गठन गरिएपछि सो कार्यदलले विस्तृत कार्यक्रम बैठकमा प्रस्तुत गरेको बताइएको छ।

बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राष्ट्रिय शक्ति नेपालका केशरबहादुर बिष्ट, नेपाली कांग्रेस (बीपी), राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ अभियान, शिव सेना नेपाल, नेपालका लागि नेपाली, राष्ट्रिय सरोकार मञ्च, विश्व हिन्दु महासंघ लगायत विभिन्न संगठनका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

आन्दोलनको औचित्य र आवश्यकतालाई व्यापक रूपमा सार्वजनिक गर्न जेठ ६ गते विभिन्न क्षेत्रका प्रबुद्ध व्यक्तिहरूसँग अन्तर्क्रिया कार्यक्रम आयोजना गरिने तयारी समेत भइरहेको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए। उक्त अन्तर्क्रियामा प्रमुख नेताहरूको उपस्थितिसमेत रहने जनाइएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0