पोखरा, ४ जेठ। नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माको संयोजनमा सगरमाथा आधार शिविरमा ‘जलवायु परिवर्तन, हिमाली जीवन र सरकारसँगको अपेक्षा’ विषयक विशेष संवाद कार्यक्रम शनिबार सम्पन्न भएको छ। संवाद कार्यक्रममा गृहमन्त्री रमेश लेखक र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेको पनि सक्रिय उपस्थिति रहेको थियो।

सगरमाथा आरोहण क्षेत्रमा प्रत्यक्ष संलग्न स्थानीय तथा सरोकारवाला व्यक्तिहरूको सहभागिता रहेको कार्यक्रममा हिमाली जीवन र आरोहण क्षेत्रका समस्याबारे सरकारलाई सचेत गराउने उद्देश्यसहित १६ बुँदे माग प्रस्तुत गरिएको थियो। कीर्तिमानी आरोही कामिरिता शेर्पालाई सम्मान गर्दै सुरु गरिएको उक्त संवादमा स्थानीयको तर्फबाट बाबु शेर्पाले माग वाचन गरेका थिए।

महामन्त्री शर्मा लुक्लादेखि पाँच दिनको पदयात्रा गर्दै सगरमाथा आधार शिविर पुगेका थिए। उनले सरकारको ध्यान हिमाली जीवनका यथार्थ समस्यातर्फ केन्द्रित गराउन संवाद आयोजना गरिएको जानकारी गराउँदै, सञ्चार टावरको व्यवस्था, भरियाहरूको बिमा, स्थायी सुरक्षा इकाइको स्थापना, र हिमाली क्षेत्रको दीगो व्यवस्थापनमा तत्काल काम गर्नुपर्ने धारणा व्यक्त गरे। साथै, उनले कार्बन उत्सर्जन गर्ने शक्तिशाली राष्ट्रहरूमाथि अन्तर्राष्ट्रिय दबाब सृजना गर्न नेपालले अग्रसर भूमिका खेल्नुपर्नेमा जोड दिए।

कार्यक्रममा गृहमन्त्री लेखकले जलवायु परिवर्तन र हिमाली जीवनका मुद्दालाई सरकार गम्भीर रूपमा लिई समाधानमुखी कार्ययोजना बनाउने प्रतिबद्धता जनाए। पर्यटन मन्त्री पाण्डेले आरोहण क्षेत्रको समग्र विकासका लागि १६ बुँदे मागको कार्यान्वयनमा विशेष सक्रियता देखाउने बताएका थिए।

संवाद कार्यक्रममा आरोही कामिरिता शेर्पा, डा. आशिष पौडेल, मिङमा छिरिङ शेर्पा, दावा शेर्पा, पासाङ भोटे लगायतले हिमाली क्षेत्रको सुरक्षा, पूर्वाधार, पर्यावरणीय प्रभाव न्यूनीकरण र स्थानीयको जीविकोपार्जनमा राज्यको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिएका थिए।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0