पोखरा, ४ जेठ। पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा प्रवचनका साथै विभिन्न जातजातिको सांस्कृतिक झाँकीको आकर्षक प्रस्तुति हुँदै आएको छ। सनातन हिन्दु धर्मको संरक्षणसँगै नेपाली विविध संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले महायज्ञमा हरेक दिन फरक समुदायको सांस्कृतिक झल्को प्रस्तुत भइरहेको छ।
कोटिहोम स्थलमा आइतबार नवलपुरबाट आएको १ सय सदस्यीय टोलीले थारु समुदायको लाठी नाच, झमटा, झुमरालगायत नृत्य प्रस्तुत गरी सबैको ध्यान तानेका थिए। टोलीमा मध्यविन्दु नगरपालिका वडा नम्बर ३ का अध्यक्ष मानबहादुर महतो, जिल्ला समन्वय समिति नवलपुरका सदस्य लोकनाथ अर्याल तथा थारु संस्कृतिका अनुसन्धानकर्ता हरिमाया चौधरीको सक्रिय सहभागिता रहेको थियो।
सांस्कृतिक झाँकी संयोजक डा. तुलसी प्रभास खनालका अनुसार हरेक दिन कोटिहोममा फरक जातजातिको सांस्कृतिक प्रस्तुति गरिनेछ। इच्छुक व्यक्तिहरूले आफ्ना परम्परागत संस्कृति प्रस्तुत गर्न आयोजकमार्फत सहभागिता जनाउन सक्नेछन्। यही जेठ १० गते शनिबार दक्षिण एसियाकै पहिलो पर्यटकीय गाउँ दरौँ सिरुवारिबाट थाली नृत्यसहितको झाँकी कोटिहोममा प्रस्तुत गरिने कार्यक्रम रहेको छ।
धार्मिक महायज्ञको सिलसिलामा हरेक दिन ख्यातिप्राप्त साधु सन्त तथा कलाकारहरूको प्रवचन र प्रस्तुति भइरहेको छ। अनन्त श्री विभूषित महामण्डलेश्वर स्वामी रामेश्वरानन्द सरस्वतीको सम्मानपूर्वक विदाइपछि बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराज र चैतन्यकृष्ण महाराजले संयुक्त रूपमा कथा वाचन सुरु गरेका छन्।
कार्यक्रममा भजन गायक रेशम सापकोटा, लोक गायिका राधिका हमाल, हास्य कलाकार पल्पसा डंगोल ‘चम्सुरी’, वरिष्ठ लोक गायिका हरिदेवी कोइराला, गायक राजु ढकाल, तथा महानायक राजेश हमालको सहभागिता रहने कार्यक्रम प्रचार संयोजक लेखराज ढकालले जानकारी दिए।
कोटिहोममा नियमित रूपमा प्राप्त हुने आर्थिक सहयोगले कार्यक्रमको धार्मिक, सामाजिक र सांस्कृतिक आयामलाई सुदृढ बनाएको छ। विभिन्न क्षेत्रका व्यक्तिहरूले उल्लेख्य रकम सहयोग गरेका छन्। साथै, राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता, चौरासी पूजन, पार्थिव शिवलिङ्ग निर्माण, दीप प्रज्वलन, तुलादान, रुद्राभिषेक, विवाह कार्यक्रमजस्ता विविध धार्मिक क्रियाकलाप सहभागीहरूको आकर्षण बनेका छन्।
कोटिहोममा ४ सयभन्दा बढी ब्राह्मणहरूले दैनिक हवनमा आहुति अर्पण गरिरहेका छन्। कार्यक्रमस्थल पोखरा–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिर परिसरमा सञ्चालन भइरहेको छ, जुन जेठ २६ गतेसम्म जारी रहनेछ।

































