पोखरा, ५ जेठ। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले नोबेल शान्ति पुरस्कार जित्ने सम्भावनालाई लिएर अन्तर्राष्ट्रिय सञ्चारमाध्यम, विश्लेषक र अनलाइन बेटिङ प्लेटफर्महरूमा चर्चा चुलिएको छ। पछिल्ला घटनाक्रम र विश्लेषणहरूमा ट्रम्पको कूटनीतिक प्रयासलाई केहीले शान्तिका लागि प्रभावशाली भनेका छन् भने कतिपयले विवादास्पद ठहर गरेका छन्।
न्युजवीकले अनलाइन बेटिङ साइट ‘अड्सचेकर’लाई उद्धृत गर्दै ट्रम्पलाई २०२५ को नोबेल शान्ति पुरस्कारको प्रमुख दाबेदार मानेको उल्लेख गरेको छ। अड्सचेकरमा ट्रम्पको पक्षमा १३/२ को अनुपातमा ८५ प्रतिशत बेटिङ भएको दाबी गरिएको छ। तर, यो चर्चा यत्तिमा मात्र सिमित छैन। ट्रम्पले युक्रेन-रुस युद्ध, इजरायल-हमास संघर्ष र भारत-पाकिस्तानबीचको तनावमा मध्यस्थता गर्ने प्रयास गरेका छन् भन्ने उनका समर्थकहरूको दाबी छ।
उनले पहिलो कार्यकालमा उत्तर कोरियाली नेता किम जोङ-उनसँगको ऐतिहासिक भेटवार्ता र इजरायलसहित खाडी मुलुकहरूसँग ‘अब्राहम सम्झौता’ गराएका थिए। यी कूटनीतिक प्रयासले शान्ति स्थापना तर्फ केही योगदान दिएको समर्थकहरू बताउँछन्। तर, युक्रेन र मध्यपूर्वमा उनले लिएको रणनीति, सैन्य सहायता कटौती र रुससँगको नरम व्यवहारले उनको आलोचना पनि चर्किएको छ।
नोबेल समितिको मापदण्ड दीर्घकालीन प्रभाव, समावेशी दृष्टिकोण र विश्व स्वीकृतिलाई प्राथमिकता दिन्छ। समितिमा ट्रम्पको नाम अमेरिकी सांसद ड्यारेल इस्सा, युक्रेनी सांसद ओलेक्सान्डर मेरेज्को र इजरेली प्राध्यापक अनात अलोन-बेकले प्रस्ताव गरेको जनाइएको छ। यद्यपि, समितिको गोपनीयता नीतिका कारण वास्तविक संख्या सार्वजनिक गरिएको छैन।
द गार्जियन, द टेलिग्राफ र एनबीसी न्यूजजस्ता प्रतिष्ठित सञ्चारमाध्यमले ट्रम्पको शान्ति प्रयासलाई मिश्रित परिणाम दिने भन्दै सतर्क विश्लेषण गरेका छन्। ट्रम्पले नोबेल पुरस्कारलाई बारम्बार सार्वजनिक रूपमा चाहेको बताउँदै आलोचकहरूले पुरस्कारप्रति उनको धारणा ‘प्रचारमुखी’ भएको टिप्पणी गरेका छन्।
ट्रम्पका लागि शान्तिकर्ताको छवि निर्माण चुनौतीपूर्ण बन्दै गएको छ। युक्रेनमा तत्कालीन दबाबपूर्ण नीति, भारत–पाकिस्तानबीचको मध्यस्थताको अपुष्ट दाबी, र इजरायलप्रतिको एकपक्षीय समर्थन जस्ता विषयले उनको दाबीलाई थप आलोचनाको केन्द्र बनाएको छ।
अन्ततः नोबेल पुरस्कार समितिको निर्णय विशुद्ध रुपमा मूल्यांकन, दीर्घकालीन योगदान र समग्र विश्व शान्तिमा देखिएको प्रभावका आधारमा हुने भएकाले ट्रम्पको उम्मेदवारी स्वीकार गरिने कि अस्वीकृत—त्यसको स्पष्टता आउँदो दिनमा मात्र हुने छ।


























