पोखरा, ५ जेठ। झापाको अर्जुनधारा नगरपालिकास्थित बिरिङ खोलामा दुई वर्षअघि बाढीले भासिएको पक्की पुल अहिलेसम्म निर्माण हुन सकेको छैन। झापाको विर्तामोडदेखि इलामको माइ नगरपालिकालाई जोड्ने यो महत्त्वपूर्ण पुल भासिएपछि साना सवारी साधनहरू अझै जोखिम मोलेर सञ्चालन भइरहेका छन्।
स्थानीयवासी मेघराज रम्तेलले पुल भासिएको लामो समय बित्दासमेत सरकारको चासो नदेखिएकोप्रति गुनासो गर्नुभयो। उहाँले पहिलो वर्ष बजेट नहुँदा ढिलो भयो भन्ने बुझाइ रहेको भए पनि दोस्रो वर्षसम्म पनि काम नहुँदा गम्भीर चिन्ता बढेको बताउनुभयो।
वर्षात्को समयमा बाढीले पुलमाथिबाट बग्ने र पुलको छत भासिएर खोलामा खसिसकेको अवस्था रहेको हुँदा अब मर्मत सम्भव नरहेको स्थानीयको भनाइ छ। सुक्खा मौसममा सीमित यातायात भए पनि वर्षात्को समयमा आवगमन पूर्ण रूपमा अवरुद्ध हुने गरेको छ।
अर्जुनधारा नगरपालिकाका सूचना अधिकारी हेमराज सेढाईका अनुसार पुल निर्माणका लागि संघीय सरकारसँग पटकपटक अनुरोध गरिएको छ। उहाँका अनुसार सभामुख देवराज घिमिरे र भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले चासो देखाउँदै स्थलगत अवलोकनसमेत गर्नुभएको छ। नगरपालिकाको आर्थिक अवस्था कमजोर भएकाले संघीय सरकारको बजेटमै भर पर्नु बाध्यता रहेको उहाँले स्पष्ट पार्नुभयो।
विसं. २०६५ सालमा भारत सरकारको दुई करोड रुपैयाँको सहयोगमा निर्माण गरिएको उक्त पुलले निर्माणपश्चात सो सडकमा लामो दूरीका यातायात चल्न थालिएको थियो। तर पुल भासिएपछि त्यस मार्गको आवगमनमा पुनः कठिनाइ सिर्जना भएको छ। सडक डिभिजन कार्यालय दमकका सूचना अधिकारी विपीन ढुङ्गानाले यो वर्षको कार्ययोजनामा पुल नपरेको जानकारी दिनुभयो।
स्थानीयवासी अब पुल निर्माणका लागि ठोस पहल होस् भन्ने अपेक्षामा छन्। वर्षेनी बढ्दो जोखिमका बीच सुरक्षित पुल निर्माण नगरिएसम्म जनताको दैनन्दिन जीवन संकटमा पर्ने देखिएको छ।





























