पोखरा, ५ जेठ। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ। प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले प्रदेश सभाको छैठौं अधिवेशनको पाँचौं बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने प्रदेश सभा सचिवालयले जानकारी दिएको छ।
वार्षिक नीति तथा कार्यक्रमको प्रस्तुतिलाई लिएर प्रदेश सरकार तयारी अवस्थामा रहेको छ। कार्यक्रममार्फत सरकार कृषि, पर्यटन, उद्योग, पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारलगायत नवप्रवर्तनका क्षेत्रलाई विशेष प्राथमिकता दिने बताइएको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम यथार्थ धरातलमा आधारित हुने जनाइएको छ।
अघिल्ला वर्षहरूमा सुरु गरिएका तर अझै सम्पन्न हुन नसकेका योजनाहरूलाई प्राथमिकता दिई सम्पन्न गरिने सरकारको योजना रहेको छ। ती योजनाहरू जनताको जीवनस्तर उकास्न सघाउने भएकाले अनिवार्य रूपमा कार्यान्वयनमा जोड दिइने बताइएको छ। साथै, स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्दै अर्गानिक खेती प्रणालीको विकास गर्ने र स्वदेशमै रोजगारी सिर्जना गर्नेसम्मका विषयलाई समेत उच्च प्राथमिकता दिइनेछ।
प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत भएपछि आगामी वर्षको बजेट निर्माण प्रक्रिया तीव्र रुपमा अघि बढ्ने अपेक्षा गरिएको छ।




























