पोखरा, ५ जेठ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले वैदेशिक विकास सहायता कटौतीका कारण नेपालमा सञ्चालनमा रहेका मातृ, बाल तथा नवजात शिशुको जीवनरक्षा कार्यक्रमहरू प्रभावित भएको बताएका छन्। स्वीट्जरल्याण्डको जेनेभामा विश्व स्वास्थ्य सङ्गठनको ७८औँ सभा सुरु हुनुअघि आयोजित मन्त्रीस्तरीय गोलमेचमा बोल्दै उनले दातृ निकायसँग सहयोगको निरन्तरताका लागि अपिल गरेका हुन्।
मन्त्री पौडेलले नेपाल जस्तो निम्न तथा मध्यम आय भएका मुलुकको सूचीमा रहेका राष्ट्रहरूका लागि विकास सहायता अति आवश्यक रहेको उल्लेख गर्दै स्वास्थ्य सेवाका महत्वपूर्ण क्षेत्रहरूमा परेको प्रभावबारे जानकारी दिए। उनका अनुसार, प्रजनन उमेरका ५० लाख महिलाले पाउँदै आएको सेवा र पाँच वर्षमुनिका १५ लाख बालबालिकालाई लक्षित पोषण कार्यक्रम सहायता कटौतीले संकटमा परेको छ।
त्यस्तै, ३५ लाख वयस्कमा केन्द्रित प्रजनन शिक्षा तथा सेवामा समेत असर देखिएको छ। प्राथमिकता परिवर्तनसँगै अन्य द्विपक्षीय तथा बहुपक्षीय सहयोग कटौतीले खोप, सुरक्षित गर्भपतन, पोषण, परिवार नियोजनजस्ता कार्यक्रमहरू चुनौतीपूर्ण बनेको उनको भनाइ थियो।
मन्त्री पौडेलले यस्ता समस्यासँग जुध्न सरकारले आन्तरिक स्रोतको प्रयोग गरेर बजेट वृद्धि गरेको बताए पनि स्वास्थ्य बजेट घट्दो क्रममा रहेकोले थप समस्या निम्त्याउने बताए। उनले नेपालले सन् २०२३ मा मातृ मृत्युदर सन् २००० को तुलनामा ७१ प्रतिशतले घटाएको उल्लेख गर्दै सुधार जारी रहे सन् २०३० भित्रै दिगो विकास लक्ष्य प्राप्त हुने विश्वाससमेत व्यक्त गरे।




























