पोखरा, ५ जेठ। पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ यतिबेला भक्तजनको भक्ति भावनालाई सामाजिक उत्तरदायित्वसँग जोड्ने एक अनुपम स्थलका रूपमा उभिएको छ। मानव सेवा फाउन्डेसनद्वारा सञ्चालित यस धार्मिक तथा सामाजिक महायज्ञमा सहभागी भक्तजन अभिभावकीय जिम्मेवारी, आजीवन सदस्यता तथा शिलालेखमा नाम टिपाउने जस्ता सेवा भावनामा सक्रियतापूर्वक सहभागी भइरहेका छन्।

कोटिहोमको माध्यमबाट फाउन्डेसनले ललितपुरको मामाघर अनाथालय तथा भक्तपुरको छोरीको घर ज्येष्ठ नागरिक आश्रमको निर्माणमा सहयोग जुटाइरहेको छ। कोटिहोमको महाअनुष्ठानमा सनातन हिन्दु धर्मको संरक्षण र विभिन्न जातजातिको संस्कृतिको सम्वर्द्धन समेत गरिएको छ। महायज्ञका संकल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले धार्मिक प्रतिभालाई अगाडि ल्याउने अवसर प्रदान गरिने बताउँदै, सबैलाई स्वागतको भावना प्रकट गरेका छन्।

महायज्ञ स्थलमा कथा व्यास पुरुषोत्तम बस्याल, डा. एकनाथ पौडेल, नारायण प्रसाद गुरुदेव, उमा महेश्वरी माताजी लगायतको उपस्थितिले धार्मिक गरिमा थपिएको छ। भक्तजनबाट आएको सहयोगले कोटिहोमलाई सामाजिक अभियानको केन्द्र बनाएको छ। नारायण फर्निचर उद्योग, फिमला आमा समूह, डा. नन्द श्रेष्ठ, राधाकृष्ण मन्दिर तथा सत्यदेव ढकाललगायतका दाताले नगद तथा औषधी सहयोग गरेका छन्।

कोटिहोममा अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभाको पुनः कथा वाचन कार्यक्रम जेठ १० देखि १६ सम्म हुने भएको छ भने श्रीमद देवीभागवत वाचिका राधिका दासीको प्रवचन जेठ १४ देखि २२ सम्म हुनेछ। बालबालिकादेखि वृद्धसम्म सहभागी हुने कोटिहोममा विद्यालयका विद्यार्थीसमेत दर्शनमा आइरहेका छन्। छोरेपाटन माविबाट ४ सयभन्दा बढी विद्यार्थीको सहभागिता महत्त्वपूर्ण रह्यो।

दक्षिण एसियाकै पहिलो पर्यटकीय गाउँ दरौँ सिरुवारिबाट सांस्कृतिक झाँकी प्रस्तुत हुने कार्यक्रम रहेको छ। कोटिहोममा चौरासी पूजन, पार्थिव शिवलिंग निर्माण, वेद र पुराण पाठ पारायण, दीप प्रज्वलन, तुला दान, रुद्राभिषेक लगायतका धार्मिक अनुष्ठान भइरहेको छ।

महायज्ञमा हास्य कलाकार पल्पसा डंगोल ‘चम्सुरी’, महानायक राजेश हमाल, वरिष्ठ लोकगायिका हरिदेवी कोइराला तथा राधिका हमालजस्ता कलाकारहरूबाट भजन र नृत्य प्रस्तुति गरिएको छ। महायज्ञ स्थल पोखरा–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिर परिसरमा सञ्चालन भइरहेको कोटिहोम जेठ २६ गतेसम्म चल्नेछ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0