पोखरा, ७ जेठ। जापानका कृषिमन्त्री ताकु एतोले आफूले ‘कहिल्यै चामल किन्न नपरेको’ भन्ने अभिव्यक्ति दिएपछि बढेको आलोचना र विवादका बीच पदबाट राजीनामा दिएका छन्। नागरिक जीवनमा प्रत्यक्ष असर पार्ने खाद्य सामग्रीको मूल्यवृद्धिको संवेदनशील समयमा मन्त्रीको टिप्पणी सार्वजनिक भएपछि उनी चर्को आलोचना र विरोधको घेरामा परेका थिए।

गत एक वर्षको अवधिमा जापानमा चामलको मूल्य दोब्बरले बढेको छ। चामलको मूल्यवृद्धिले सर्वसाधारणलाई गम्भीर आर्थिक असर पुर्‍याइरहेको अवस्थामा, एतोले केही दिनअघि सार्वजनिकरूपमा ‘समर्थकहरूले चामल दिने गरेकाले आफूले कहिल्यै किन्न नपरेको’ अभिव्यक्ति दिएका थिए। उनको यो अभिव्यक्ति मतदातासमेत रहेका सर्वसाधारणको भावनामा चोट पुर्‍याएको भन्दै सामाजिक सञ्जालदेखि संसदीय वृत्तसम्म आलोचनाको विषय बनेको थियो।

मन्त्री एतोले आफ्ना अभिव्यक्ति अनुपयुक्त रहेको स्विकारी बुधबार प्रधानमन्त्रीको कार्यालय पुगेर राजीनामा बुझाएका हुन्। पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, “चामलको मूल्य आकासिएर नागरिकहरू पीडित भइरहेका बेला मैले अत्यन्तै अनुपयुक्त अभिव्यक्ति दिएको महसुस भएको छ।” एतोको राजीनामा पछि अब जापानका पूर्व वातावरण मन्त्री शिन्जिरो कोइजुमीलाई कृषि मन्त्रीमा नियुक्त गरिने तयारी भइरहेको जापानको सरकारी प्रसारण संस्था एनएचकेले उल्लेख गरेको छ।

यस घटनाले जापानमा नेताहरूको सार्वजनिक अभिव्यक्तिप्रति नागरिकको सजगता र दबाबलाई पुनः एकपटक स्पष्ट पारेको छ। मूल्यवृद्धिले थिचिएका जनताप्रति असंवेदनशील टिप्पणीको राजनीतिक मूल्य चुकाउनु परेको यो पछिल्लो उदाहरण बनेको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0