पोखरा, ७ जेठ। नागढुङ्गा–नौबिसे सडकखण्डको सुधार तथा निर्माण कार्यलाई तीव्रता दिन जेठ १० गतेदेखि २५ गतेसम्म दिउँसो साढे चार घण्टा सडक बन्द गरिने भएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले नागढुङ्गा–नौबिसे सडक निर्माण आयोजनाको प्रस्तावका आधारमा यस्तो निर्णय गरिएको जानकारी दिएका छन्।

निर्धारित अवधिमा प्रत्येक दिन बिहान १०:३० बजेदेखि दिउँसो ३:०० बजेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द हुनेछ। धादिङ जिल्ला प्रशासनसँगको समन्वयमा गरिएको यो निर्णय सडकको मोड सुधार, फराकिलो बनाउने र पिच गर्ने कार्य प्रभावकारी बनाउन लिइएको हो। यसअघि वैशाख २२ देखि ३१ गतेसम्म रातिको समयमा मात्रै काम भइरहेकोमा अब आवश्यक प्राविधिक कार्यहरू दिनको समयमा गर्नुपर्ने भएकाले दिउँसो पनि बन्द गरिने निर्णय गरिएको हो।

सडक बन्द अवधिभर काठमाडौंबाट बाहिरिने सवारी साधनहरू नागढुंगामा र नौबिसेतर्फबाट आउने सवारी साधनहरू खानीखोलामा रोकिने छन्। यसले यात्रु तथा सवारी चालकलाई असुविधा हुन सक्ने भएकाले वैकल्पिक मार्गको प्रयोग गर्न स्थानीय प्रशासनले आग्रह गरेको छ। वैकल्पिक रूपमा धार्के–सितापाइला मार्ग तथा टोखा–छहरे–त्रिशूली–गल्छी सडक प्रयोग गर्न अनुरोध गरिएको छ।

निर्माण कार्यले सडक सुधारमा दीर्घकालीन योगदान पुर्‍याउने अपेक्षा गरिएको छ भने प्रशासनले निर्माण अवधिभर सवारी व्यवस्थापनमा सहजीकरण गर्ने जनाएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0