पोखरा, ७ जेठ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा दायर गरिएको बन्दीप्रत्यक्षीकरण निवेदनमाथिको सुनुवाइ स्थगित भएको छ। बुधबारका लागि तय गरिएको सुनुवाइ न्यायाधीशहरूको व्यस्तताका कारण हुन नसकेको सर्वोच्च अदालत प्रशासनले जनाएको छ।

यसअघि मंगलबार बसेको इजलासमा न्यायाधीश डा. नहकुल सुवेदी र बालकृष्ण ढकालले संयुक्त रूपमा हेर्दाहेर्दैमा राखिएको उक्त निवेदनको सुनुवाइ बुधबार निरन्तर हुने बताइएको थियो। तर, बुधबारको पेशी सूचीमा अदालत प्रशासनले सुनुवाइ स्थगित गरिएको उल्लेख गर्दै अर्को मिति तोकिएको छैन।

सुनुवाइमा तोकिएका न्यायाधीश डा. नहकुल सुवेदी संवैधानिक इजलासमा व्यस्त रहेका छन् भने अर्का न्यायाधीश बालकृष्ण ढकाल भने छुट्टै इजलासमा रहेका कारण दुवै जना उपस्थित नहुँदा सुनुवाइ अगाडि बढ्न नसकेको हो।

रास्वपाका सभापति लामिछानेलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरिएको हो। बन्दीप्रत्यक्षीकरणमार्फत नागरिकको स्वतन्त्रता सुनिश्चित गरिने संवैधानिक अधिकार अन्तर्गत लामिछानेको पक्षबाट यो रिट पेश गरिएको हो।

सर्वोच्च अदालतले हालसम्म यो रिट निवेदनमाथि पुनः कहिले सुनुवाइ हुने भन्ने मिति निर्धारण गरेको छैन। यसले लामिछानेको थुनाबारे कानुनी प्रक्रिया कहिले निष्कर्षमा पुग्ने भन्नेमा अन्योलता उत्पन्न भएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0