पोखरा, ७ जेठ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेललाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। उनले गभर्नरको जिम्मेवारी राष्ट्रको मौद्रिक स्थायित्व, वित्तीय प्रणालीको मजबुतीकरण र समग्र आर्थिक विकासमा निर्णायक हुने भन्दै डा. पौडेलको कार्यकाल अर्थतन्त्रका चुनौतीहरू सामना गर्न सक्षम हुने विश्वास व्यक्त गरे।
अर्थमन्त्री पौडेलले हालको आर्थिक अवस्था सन्तुलनमा ल्याउन नेपाल राष्ट्र बैंकको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै बैंक नेतृत्वमा अनुभवी तथा नीतिगत दृष्टिकोणमा प्रस्ट व्यक्तित्व नियुक्त भएकोमा खुशी व्यक्त गरे। उनले डा. पौडेलको दीर्घ प्रशासनिक तथा आर्थिक अनुभव मुलुकको अर्थतन्त्रमा सकारात्मक योगदान पुर्याउने धारणा व्यक्त गरे।
नवनियुक्त गभर्नर डा. पौडेल यसअघि नीति अनुसन्धानमा खारिएका, उच्च आर्थिक जिम्मेवारी सम्हालिसकेका विज्ञका रूपमा चिनिन्छन्। अब उनको कार्यकालमा मौद्रिक नीति, विदेशी विनिमय व्यवस्थापन, महँगी नियन्त्रण र वित्तीय स्थायित्वमा सुधार अपेक्षा गरिएको छ। अर्थमन्त्री पौडेलले राष्ट्र बैंक र अर्थ मन्त्रालयबीच सशक्त समन्वयका साथ अघि बढ्ने प्रतिबद्धता पनि जनाएका छन्।





























