पोखरा, ९ जेठ। ललितपुरको ग्वार्को चोकस्थित फ्लाइओभरको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। चक्रपथअन्तर्गतको यो महत्त्वपूर्ण आयोजना जेठ महिनाभित्रै सवारी साधनका लागि खुला गर्ने गरी काम तीव्र गतिमा अघि बढाइएको छ। हाल दुवैतर्फको र्‍याम्पमा प्राइम कोट बिछ्याउने काम सुरु भइसकेको छ, जसपछि कालोपत्रे गरिने सडक विभागका गुणस्तर तथा अनुसन्धान तथा विकास केन्द्रका निर्देशक दीप बराहीले जानकारी दिए।

बराहीका अनुसार कोटेश्वरतर्फको र्‍याम्पमा प्राइम कोट बिछ्याउने कार्य सुरु भइसकेको छ भने सातदोबाटोतर्फको र्‍याम्पमा बेस कोर्स तयार पार्ने काम भइरहेको छ। बेस कोर्स निर्माण सकेपछि क्रमशः प्राइम कोट बिछ्याएर कालोपत्रे गरिने योजना छ। उनले जेठभित्र दुवैतर्फको र्‍याम्पमा कालोपत्रे कार्य सम्पन्न गरी फ्लाइओभर सवारी सञ्चालनका लागि खुला गरिने स्पष्ट पारे। यद्यपि, आकासेपानी निकास, ट्राफिक लाइट जडान, सडक पेन्टिङलगायतका बाँकी काम भने असारभित्र सकिने लक्ष्य लिइएको छ।

फ्लाइओभरको निर्माण कार्य इपिसी मोडलमा माघ २०७८ मा आरसी, समानान्तर र रेलिग्रे जेभीसँग ठेक्का सम्झौता भई सुरु भएको हो। कुल लागत १७ करोड ६ लाख ८८ हजार रहेको आयोजना सुरु भएपछि डिजाइनमा समस्या आएर निर्माणमा अवरोध भएको थियो। त्यसपछि डिजाइन परिमार्जन गरी पुनः काम सुरु गरिएको हो। पटक–पटक म्याद थपेर पनि काम समयमा नसकिएपछि कम्पनीले अहिले जरिवाना तिरेर निर्माण कार्य अघि बढाइरहेको छ।

गत पुस–माघमा सातदोबाटोपट्टिको र्‍याम्पमा फेरि समस्या देखिएपछि काम रोकिएको थियो। तर २३ माघदेखि निर्माण पुनः सुरु गरिएको हो। अहिले निर्माण कार्यले तीव्रता पाएकाले शीघ्र नै राजधानीको यो व्यस्त चोकमा सवारी सञ्चालन सहज हुने अपेक्षा गरिएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0