पोखरा, ९ जेठ। नेपाल शिक्षक महासंघले शिक्षा क्षेत्रमा देखिएका समस्याहरू, शिक्षकका पेशागत मागहरू तथा शैक्षिक ऐन संशोधनको सन्दर्भमा संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको ध्यानाकर्षण गराएको छ। महासंघका प्रतिनिधिहरूले समितिका सभापति माननीय अम्मरबहादुर थापा र नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक माननीय महेश बर्तौलासँग भेट गर्दै शिक्षकका सरोकार र सरोकारवाला पक्षको माग समेटिएको ऐन निर्माणको आग्रह गरेका हुन्।
महासंघले यसअघि उपसमितिले बुझाएको प्रतिवेदनमा शिक्षकका मागहरू उपेक्षित गरिएको, विशेष गरी माध्यमिक शिक्षा परीक्षा (एसईई) हटाउने प्रस्तावप्रति आपत्ति जनाउँदै शिक्षा प्रणालीलाई अस्थिर बनाउने खालका निर्णय नगर्न अनुरोध गरेको छ। भेटका क्रममा महासंघले ऐनको मस्यौदामा शिक्षकको पेशागत स्थायित्व, सेवा शर्त, कार्यक्षेत्र र विद्यालय व्यवस्थापनमा सुनिश्चित भूमिका जस्ता मुद्दा समेट्नुपर्ने भन्दै ध्यानाकर्षण पत्र समेत हस्तान्तरण गरेको थियो।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षकहरूले उठाउँदै आएका माग र सुझावहरूलाई विधेयकमार्फत सम्बोधन गर्न आवश्यक रहेको उल्लेख गरे। समितिका सभापति थापाले शिक्षकहरूसँग भएको विगतका सहमति तथा सम्झौतालाई आधार मानी ऐन तोकिएको मितिमा ल्याउने प्रतिबद्धता समेत व्यक्त गरे।
शिक्षा क्षेत्रको विकास र शिक्षकको हकहितका विषयमा गम्भीर संवाद र सहकार्य जरुरी रहेको भन्दै महासंघले सरकार र सरोकारवालासँग निरन्तर संवाद गर्ने जनाएको छ।




























