पोखरा, ९ जेठ। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशका कर्मचारीहरूमा काम गर्ने इच्छाशक्ति कमजोर हुँदै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्। बिहीबार जनकपुरधाममा अर्थ मन्त्रालयको आयोजनामा आयोजित विनियोजन विधेयक २०८२ का लागि मस्यौदाको सुझाव संकलन कार्यक्रममा बोल्दै उनले कर्मचारीको ढिलासुस्ती र गैरजिम्मेवार व्यवहारले प्रदेश सरकारको कार्यक्षमतामाथि नै प्रश्न उठिरहेको बताए।
मुख्यमन्त्री सिंहले प्रदेशका हरेक मन्त्रालयमा काम गरिरहेका कर्मचारीहरूमा कामप्रतिको उदासिनता देखिएको र यसले सरकारको प्रभावकारितामा प्रतिकूल असर पारेको स्पष्ट पारे। उनले कार्यक्रममा सहभागी उच्च अधिकारीहरूलाई निर्देशन दिँदै भने, “यो प्रवृत्तिले हाम्रो शासन प्रणालीको भरपर्दोपनमाथि नै प्रश्न उठ्छ, त्यसैले तत्काल सुधार गर्नु आवश्यक छ।” उनले उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीलाई पुरस्कृत गर्न र लापरबाही गर्नेहरूलाई घटुवा गर्नुपर्ने व्यवस्था गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा सहभागी मधेश प्रदेशका अर्थमन्त्री सुनील यादवले बजेट कार्यान्वयनमा कार्यविधिले अवरोध पुर्याएको बताए। उनले विगतको बक्यौता, बजेटको रकमान्तर, नयाँ योजनाको कार्यान्वयन र संघीय नीतिसँगको समन्वयलगायत दस वटा एजेन्डामा सचिवहरूसँग छलफल भएको जानकारी गराए। सचिवहरूले संघीय नीतिलाई ध्यानमा राख्दै कार्यविधिमा सुधारको खाँचो रहेको सुझाव दिएका थिए।
मुख्यमन्त्री सिंहको स्पष्ट सन्देशले मधेश प्रदेशमा सुशासन र उत्तरदायित्वपूर्ण प्रशासन निर्माणका लागि उच्च अधिकारी र कर्मचारीको भूमिकालाई पुनः समीक्षा गर्नुपर्ने संकेत गरेको छ।




























