पोखरा, ९ जेठ। पोखरा महानगरपालिका–१७ मा सञ्चालन भइरहेको श्री गण्डकी शत कुण्डीय कोटिहोम महायज्ञले स्थानको ऐतिहासिक महत्व झनै बढाएको छ। यही महायज्ञको सन्दर्भमा स्थानीय बासिन्दाहरूले महायज्ञ सञ्चालन भइरहेको स्थललाई “कोटिहोम चोक” नामकरण गरेका छन्। माछापुच्छ्रे टोल र पाल्पाली मार्गको नामले चिनिने यस क्षेत्रमा अबदेखि कोटिहोम चोकको रूपमा चिनिनेछ।
स्थानीय शारदा पंगेनीका अनुसार भावी पुस्ताले पनि यो धार्मिक ऐतिहासिक क्षण सम्झन सकून् भन्ने हेतुले चोकको नाम कोटिहोम चोक राखिएको हो। उनले कोटिहोम महायज्ञको अवलोकन गर्न पाउनु आफ्नै भाग्य रहेको उल्लेख गर्दै यस नामाकरणलाई एक ऐतिहासिक पहिचानको रूपमा व्याख्या गरिन्।
यस्तै, अर्का स्थानीय धनी प्रसाद ढकालले प्रारम्भमा सानो बोर्डमार्फत चोकको नाम उल्लेख गरिएको र आगामी वर्ष स्थानीयको सहकार्यमा ठूलो प्रवेशद्वार निर्माण गरिने जानकारी दिए। स्थानीय बिनोद केसीले लोकेसन चिनाउन गाह्रो भइरहेको अवस्थामा कोटिहोम चोक नामले क्षेत्रको पहिचान स्पष्ट बनाएको बताए।
स्थानीय अनुसार, चोकको नाम उद्घाटन वैशाख ९ गते एकादशीको दिन गरिनेछ। मानव सेवा फाउण्डेसन नेपाल लगायतको आयोजनामा भइरहेको कोटिहोम महायज्ञमा दैनिक सयौँ भक्तजनहरूको उपस्थिति रहँदै आएको छ, जसले धार्मिक आस्थासँगै स्थानीय एकता र समर्पणलाई पनि उजागर गरेको छ।































