पोखरा, ९ जेठ। पोखरामा आयोजित श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको बुधबारको प्रवचन स्थल अत्यन्तै उल्लासमय र भव्य देखिएको छ। मूलद्वार नजिकैको क्षेत्र भक्तजनहरूले खचाखच भरिएको थियो भने धार्मिक वातावरण विशेष ऊर्जा र श्रद्धाले भरिएको महसुस गरिएको थियो।
यस विशेष दिन थाहा नगरपालिकाका नगरप्रमुख विष्णुबहादुर विष्ट, उप–प्रमुख भरत गोपाली तथा नगरका अन्य प्रतिनिधिहरूको उपस्थिति कार्यक्रमको आकर्षणको केन्द्र बनेको थियो। उनीहरूले धार्मिक माहोलमा आत्मीय सहभागिता जनाउँदै प्रवचन स्थलमै भक्तजनहरूसँग रमाइलो गर्दै नाचगानमा सहभागी भएर वातावरणलाई उल्लासमय बनाएका थिए।
नगरप्रमुख विष्टले कार्यक्रममा मन्तव्य राख्दै ज्येष्ठ नागरिकप्रतिको कदर र सेवा आफ्नो प्राथमिकता रहेको स्पष्ट पारे। उनले कोटिहोमलाई १ लाख ११ हजार १ सय ११ रुपैयाँको सहयोग गर्ने घोषणा गरे। उक्त सहयोग व्यक्तिगत रूपमा र नगरपालिकाको तर्फबाट संयुक्त रूपमा प्रदान गरिने बताए।
स्थानीय बासिन्दाहरूले नगरप्रमुखको सक्रिय सहभागिता, धार्मिक आस्थाप्रति समर्पण, र सामाजिक उत्तरदायित्वप्रति देखाएको प्रतिबद्धताको खुलेर प्रशंसा गरे। जनप्रतिनिधिहरूको यस्तो सक्रियताले धार्मिक कार्यक्रमहरूमा जनविश्वास अझ बलियो बनाउने विश्वास व्यक्त गरियो।
महायज्ञमा पोखरा बाहिरको पालिकाबाट प्रमुख तथा उप–प्रमुख स्तरको सहभागिता पहिलोपटक देखिएको हो। यसले महायज्ञको राष्ट्रिय महत्वलाई थप बलियो बनाएको छ। संकल्पकर्ता बालयोगेश्वर श्री विजयकृष्णमूर्तिजी महाराजले नगरप्रमुख विष्टप्रति आभार व्यक्त गर्दै अन्य पालिकाहरूलाई पनि यस्तो सहभागिता जनाउन आह्वान गरे।
प्रवचन स्थल विद्युत् बत्तीयो, पुष्पमालाले सजिएको, र सांस्कृतिक कार्यक्रमहरूले सुसज्जित रहेको थियो। नगरप्रमुख विष्ट नेतृत्वको टोलीले सम्पूर्ण कोटिहोम क्षेत्रको भ्रमण गर्दै भक्तजनहरूसँग संवाद गरे, जसले कार्यक्रमलाई थप सजीव बनाएको थियो।
धर्म, संस्कृति र सामाजिक समृद्धि जोड्ने यस्ता कार्यक्रममा जनप्रतिनिधिहरूको सहभागिता जनस्तरको विश्वास दृढ बनाउने माध्यम बन्न सक्ने नागरिकहरूको धारणा रहेको छ।































