पोखरा, १२ जेठ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा भिजिट भिसा सेटिङ प्रकरण सार्वजनिक भएपछि नेपाली कांग्रेसभित्र आन्तरिक खिचातानी चर्किएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन कार्यालयका प्रमुख एवम् सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएपछि यो प्रकरण गम्भीर मोडमा पुगेको छ। अवैध ढंगबाट भिजिट भिसामा रकम असुली गरेको आरोपमा पक्राउ परेका भट्टराईलाई गत असोज २३ गते गृहमन्त्री रमेश लेखकले चार महिनामै पूर्वप्रमुख सुरेश पन्थीलाई हटाएर नियुक्त गरेका थिए।

भट्टराईको नियुक्तिपछि अध्यागमनमा रकम असुलीको कार्य तीव्र भएको सूचनापछि अख्तियारले छापा मार्नुअघि गृह मन्त्रालयले हतार–हतार उनलाई मन्त्रालयमा ताने पनि अनुसन्धानको जालबाट उम्कन सकेनन्। भट्टराई पक्राउ परेपछि गृहमन्त्री लेखक नै विवादको केन्द्रमा तानिए र कांग्रेसभित्र उनको भूमिकाबारे बहस चर्कियो। यसैबीच सोमबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा पूर्वमहामन्त्री डा. शशांक कोइरालाले गृहमन्त्री लेखकको राजीनामा माग्ने शेखर कोइराला र उनी निकट सांसदहरूलाई स्पष्टीकरण माग्नुपर्ने प्रस्ताव गरे।

शशांक कोइरालाको यो प्रस्तावले कांग्रेसको इतिहासमै चर्चित भाइबीचको टकराव—बीपी र मातृका कोइरालाबीचको सत्ता संघर्षको झल्को दिलाएको छ। बीपी कोइरालाको छोरा शशांक र उनका सहोदर भाइ केशवको छोरा शेखरबीच अहिलेको प्रतिस्पर्धा आगामी कांग्रेस महाधिवेशनलाई समेत लक्षित देखिन्छ। शशांक सभापति देउवाको समर्थनमा नेतृत्व सम्हाल्ने तयारीमा छन् भने शेखर अघिल्लो महाधिवेशनमा देउवासँग पराजित भएपछि फेरि जिल्ला दौडाहामा निस्किएका छन्।

विराटनगरमा आयोजित कार्यक्रममा शेखर कोइरालाले गृहमन्त्री लेखकले अनियमितता भएको भनिएको अध्यागमन प्रकरणको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिनुपर्ने बताएका थिए। उनले लेखकमाथिको आरोप स्पष्ट पार्न स्वतन्त्र छानबिन समिति गठन हुनु पर्ने धारणा राखेका थिए। तर देउवा नेतृत्वले शशांकको प्रस्तावबारे स्पष्ट प्रतिक्रिया नदिँदा कांग्रेसभित्रको असहमति अझ चुलिएको छ।

कांग्रेसमा देखिएको यो आन्तरिक टकरावले सत्ता र नैतिकताबीचको द्वन्द्वलाई पुनः उजागर गरिदिएको छ। यतिबेला पार्टीभित्रको शक्ति सन्तुलनको बहस नयाँ मोडमा पुगेको देखिन्छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0