पोखरा, १२ जेठ। राजसंस्था पुनःस्थापनाको आन्दोलनको सन्दर्भमा आयोजित साक्षात्कार कार्यक्रम सकेर बाहिरिँदै गरेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन सोमबार प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा केही पत्रकारहरूको तीव्र प्रश्नहरूको सामना गर्न बाध्य भए। एमालेसँगको सम्बन्धबारे चिढ्याउने शैलीमा सोधिएका प्रश्नहरूप्रति लिङ्देन आक्रोशित देखिए।

राप्रपाले ४० वर्ष मुनिका युवाहरूसँग संवाद गर्दै जेठ १५ बाट सुरु हुने आन्दोलनबारे जनमत सृजना गर्न कार्यक्रम आयोजना गरेको थियो। सोही कार्यक्रममा सहभागी भएर निस्कँदै गर्दा पत्रकारले २०७९ को निर्वाचनमा एमालेसँग मिलेर चुनाव जितेको प्रसंग उठाउँदै उनलाई एमालेको “बुइ चढेर आएको” भनेर प्रश्न गरे।

प्रश्नको जवाफमा लिङ्देनले त्यसबेलाको राजनीतिक परिस्थिति स्पष्ट पार्दै भने, “२०७९ मा कांग्रेस–माओवादी गठबन्धन बलियो अवस्थामा थियो। एमाले एक्लिएको थियो। हामीसँग तालमेल गरेर चुनाव लड्ने प्रस्ताव आएपछि हामीले परिस्थिति हेरेर सहकार्य गरेका हौँ।” उनले एमालेसँग चुनाव जिते पनि अहिलेको एजेन्डा भिन्न रहेको बताए।

एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै लिङ्देनले भने, “केपी ओलीले कहिल्यै राजसंस्थाको समर्थन गरेका छैनन्। त्यसबेलाको तालमेल तत्कालीन चुनावी आवश्यकता थियो, अहिलेको आन्दोलन हाम्रो सिद्धान्त र मूल्यका आधारमा अघि बढेको छ।”

पत्रकारले आगामी २०८४ को निर्वाचनमा फेरि एमालेसँग मिल्ने सम्भावनाबारे पनि प्रश्न उठाएका थिए। तर, लिङ्देनले तत्काल त्यसबारे टिप्पणी गर्न अस्वीकार गरे। “०८४ को कुरा अहिले होइन, त्यतिबेला हेरेर निर्णय गरिन्छ,” उनले भने।

राप्रपाले हालै चैत १५ मा आयोजित प्रदर्शनपछिको राजनीतिक ध्रुवीकरणपछि जेठ १५ मा अझ व्यापक प्रदर्शनको तयारी गरिरहेको छ। तर, यही प्रसंगमा सत्तारुढ नेकपा एमालेका नेताहरू आक्रोशित हुँदै निषेधको रणनीतिमा गएको लिङ्देनको बुझाइ छ।

लिङ्देनले पार्टीको स्पष्ट एजेन्डा हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनामै केन्द्रित रहेको उल्लेख गर्दै पत्रकारको आरोपलाई खारेज गरे। “हिजोको तालमेल आजको आन्दोलनमा असर गर्दैन,” उनको भनाइ थियो।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0