पोखरा, १३ जेठ। पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभाको सुमधुर प्रवचनले भक्तजनहरूको मन लोभ्याएको छ। यसअघि १४ दिनसम्म आफ्नो ओजस्वी वाणीले भक्तजनलाई मन्त्रमुग्ध पारेर बिदा भएकी देवी प्रतिभाको पुनः आगमनसँगै महायज्ञस्थलमा उहाँलाई प्रत्यक्ष भेट्न र कथा श्रवण गर्न आउनेहरूको घुइँचो लागेको छ। बिहानको समयमा भक्तजनसँग प्रत्यक्ष भेटघाट गर्ने र कथावाचनका क्रममा “एक वार जोड से बोल दि जे न, थोडा प्यार से बोल न जी, पोखरावाला बोल दो न” जस्ता आत्मीय शैलीले उहाँले भक्तजनलाई थप आकर्षित गर्नुभएको महायज्ञका सहनिर्देशक युवक लामिछानेले बताउनुभयो।
सानै उमेरदेखि धार्मिक ग्रन्थहरूमा गहिरो ज्ञान राख्ने देवी प्रतिभाले हिन्दी र नेपाली दुवै भाषामा कथा प्रस्तुत गर्ने अद्वितीय क्षमता प्रदर्शन गर्दै आउनुभएको छ। भारतमा आफ्नो कथा विश्राम गरी, भक्तजनको अपार स्नेह र महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजको आग्रहलाई शिरोधार्य गर्दै उहाँ हजारौं किलोमिटर यात्रा गरेर पोखरा आइपुग्नुभएको हो। महाराजश्रीले आफूलाई बहिनी सम्झेर बिदाइ गरेको क्षण र पुनः बोलाउनुभएको स्नेहले आफूलाई यहाँ आउन प्रेरित गरेको उहाँले भक्तजनमाझ भावुक हुँदै बताउनुभयो। उहाँको प्रवचन प्रारम्भ हुनासाथ भक्तहरू आनन्दित भई पूर्ण समय कथा श्रवण गर्ने गरेका छन्, जसले महायज्ञको उत्तरार्धमा भक्तजनको उपस्थिति उत्साहजनक बनाएको छ।
महायज्ञमा देवी प्रतिभाको कथावाचनसँगै नेपालकी अर्की ख्यातिप्राप्त आध्यात्मिक व्यक्तित्व, भागवत मञ्जरी राधिका दासीले पनि जेठ १७ देखि २६ गतेसम्म श्रीमद् देवीभागवत कथा वाचन गर्नुहुने कार्यक्रम रहेको प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिनुभयो। कोटिहोममा देश विदेशबाट साधु, सन्त, महन्तहरूको आगमन र प्रवचन जारी छ। बौद्धिक अनुष्ठان फाउन्डेसन, काभ्रेका प्रतिनिधिहरू, जनप्रतिनिधि, समाजसेवी तथा उद्योग व्यवसायीहरूले पनि कोटिहोमको दर्शन गरेका छन्। यसैगरी, ‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ शीर्षकको राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिताले पनि विशेष आकर्षण थपेको छ, जसमा देशभरबाट ९० प्रतियोगी सहभागी छन् र मंगलबार ३१ जनाले आफ्ना विचार प्रस्तुत गरे। प्रतियोगिता संयोजक डा. तुलसी प्रभास खनालका अनुसार बुधबार डा. तारप्रसाद गिरी र डा. खनालले विद्यार्थीलाई निःशुल्क विशेष प्रशिक्षण दिने कार्यक्रम छ।
यो महायज्ञ मानव सेवा फाउन्डेसनद्वारा ललितपुरमा निर्माणाधीन मामाघर अनाथालय र भक्तपुरमा छोरीको घर ज्येष्ठ नागरिक आश्रम निर्माणको सहयोगार्थ सञ्चालन भइरहेको हो। महायज्ञमा विभिन्न संघसंस्था तथा व्यक्तिहरूबाट उल्लेख्य आर्थिक सहयोग प्राप्त भइरहेको छ, जसमा दुर्गा मन्दिर व्यवस्थापन समिति पोखरा १७ बाट रु. १ लाख १ हजार ११, याम कुमारी गुरुङ स–परिवार पोखरा ८ बाट रु. ५१ हजार ५१, महा विष्णु प्रधान पोखरा १४ बाट रु. २५ हजार २ सय ५२ लगायत विभिन्न आमा समूह तथा व्यक्तिहरूले सहयोग गर्नुभएको छ।
कोटिहोममा चार सयभन्दा बढी ब्राह्मणहरूद्वारा दैनिक हवन, आहुति, विभिन्न पूजाआजा, अनुष्ठान, तुला दान, चौरासी पूजा, ग्रहशान्ति, पितृकार्य, दीप प्रज्वलन, रक्तदान र राष्ट्रिय भजन प्रतियोगिताजस्ता कार्यक्रमहरू निरन्तर भइरहेका छन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूबाट भजन, झाँकी र देव लीला प्रस्तुत भइरहेका छन्। मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाका अनुसार भक्तजनले जौ, तिल, घिउ आदि हवन सामग्री दान गर्न र हवन कुण्ड परिक्रमा गर्न सक्नेछन्। पोखरा १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिर परिसरमा जारी यो महायज्ञ जेठ २६ गतेसम्म सञ्चालन हुनेछ।
































