पोखरा, १७ जेठ। पोखरामा जारी श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा ख्यातिप्राप्त आध्यात्मिक वक्ता भागवत मञ्जरी राधिका दासी कथा वाचन गर्न पोखरा आइपुगेकी छन्। मोरङमा जन्मिएकी राधिका दासीले जेठ १७ गतेदेखि १० दिनसम्म श्रीमद् देवीभागवत कथा वाचन गर्ने कार्यक्रम तय भएको छ। प्रचार प्रसार संयोजक लेखराज ढकालका अनुसार उनी व्यस्तताका कारण पूर्वनिर्धारित मिति जेठ १४ मा आउन नसकी १६ गते मात्र पोखरा पुगेकी हुन्।
महायज्ञको प्रमुख आकर्षणका रूपमा सहभागी हुन लागेकी राधिका दासीले ऐतिहासिक १०० कुण्डीय यज्ञस्थलमा कथा वाचन गर्न पाउनु आफ्नो लागि सौभाग्यको विषय भएको बताएकी छन्। उनले सबै भक्तजनलाई कोटिहोममा उपस्थित भई यज्ञमा सहभागी हुन आह्वान गरेकी छन्।
यसअघि अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभाले जेठ १० देखि १६ गतेसम्म कथा वाचन गरेकी थिइन्। देवी प्रतिभाको विदाइसँगै राधिका दासीले महायज्ञको बागडोर सम्हाल्नेछिन्। महायज्ञका संकल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले राधिका दासीलाई ‘माताको रूपमा’ सम्बोधन गर्दै उनको प्रवचनबाट आफूलाई उर्जा मिलेको बताएका छन्।
कोटिहोममा देश-विदेशका साधु, सन्त, महन्तहरूको श्रुतिमधुर प्रवचन जारी छ भने राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगिता समेत सञ्चालनमा रहेको छ। ‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ शीर्षकमा आयोजना गरिएको प्रतियोगितामा देशभरबाट ९० जना प्रतिस्पर्धी सहभागी भएका छन्। प्रतियोगितामा भोलि विशेष प्रशिक्षण कार्यक्रमको समेत आयोजना हुनेछ।
यस महायज्ञबाट संकलित सहयोग रकम मानव सेवा फाउन्डेसनद्वारा सञ्चालित सामाजिक सेवामा खर्च गरिने छ। फाउन्डेसनले ललितपुरको मामाघर अनाथालय र भक्तपुरको छोरीको घर ज्येष्ठ नागरिक आश्रम निर्माणका लागि शिलान्यास गरिसकेको छ।
कोटिहोममा दैनिक चार सयभन्दा बढी ब्राह्मणले हवनमार्फत भगवानलाई आहुति दिइरहेका छन्। तुला दान, चौरासी पूजा, ग्रहशान्ति, विवाह, व्रतबन्ध, कालसर्प योग पूजा, हनुमान चालिसा पाठदेखि लिएर २१ कोटि दीप प्रज्वलनसम्मका अनुष्ठानहरू भक्तजनको पितृ उद्धार र पारिवारिक शान्तिका लागि आयोजना गरिएको छ। साथै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूको भजन, नृत्य, देव लीलालगायत प्रस्तुति पनि जारी छ।
कोटिहोम पोखरा-१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानमा सञ्चालन भइरहेको छ। महायज्ञ जेठ २६ गतेसम्म सञ्चालन हुनेछ।
































