काठमाडौं, ७ माघ। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ खानेपानी अभावको समाधान खोज्दै सोमबार खाली गाग्री बोकेर काठमाडौं आइपुगेका छन्। धरानको पानी समस्याबारे सरकारको ध्यानाकर्षण गराउन र प्रधानमन्त्री केपी शर्मा ओली र खानेपानीमन्त्री प्रदीप यादवसँग भेट गर्न उनी काठमाडौं आएका हुन्।
खानेपानीको दीर्घकालीन समाधान नभएको भन्दै मेयर साम्पाङ सरकारप्रति असन्तुष्ट छन्। मंगलबार सिंहदरबारमा मन्त्री र प्रधानमन्त्रीसँग भेट्ने योजना बनाएका उनले खानेपानी व्यवस्थापनको मागसहित आन्दोलन गर्दै आएका छन्।
आइतबार बिहान धरानमा पानी अभावबारे प्रदर्शनको नेतृत्व गरेका साम्पाङले सोमबार काठमाडौं जानुअघि फेसबुकमा आफू थोत्रे गाग्री बोकेर काठमाडौँ हिँडेको जानकारी दिएका थिए। उनले भनेका छन्, “जनतालाई दीर्घकालीन खानेपानी व्यवस्था गर्न सरकारलाई बाध्य गराउन काठमाडौँ आएको छु।”
पूर्वका सहरहरूमध्ये धरानमा पानीको चरम अभाव छ। सप्तकोशीको पानी ल्याउन भनिए पनि बजेटको अभावले योजना अघि बढ्न सकेको छैन। हाल धरानमा मेयर साम्पाङले कोकाहा खोलाको पानी अस्थायी रूपमा उपलब्ध गराएका छन्। तर, उक्त पानी पाइपलाई जमिन र रुखमा बाँधेर ल्याइएकाले दीर्घकालीन समाधानका लागि यसले पर्याप्त सहयोग पुऱ्याउन सकेको छैन।
धरानवासीको दु:ख समाधानका लागि सरकार गम्भीर हुनुपर्ने र खानेपानीको दीर्घकालीन समाधान खोजिनुपर्ने साम्पाङको जोड रहेको छ।




























