उदयपुर । आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा रिक्त दुई वडाध्यक्ष पदका लागि प्रमुख राजनीतिक दलहरूले आफ्ना उम्मेदवारहरूको नाम सार्वजनिक गरेका छन्। त्रियुगा नगरपालिका–१२ र बेलका नगरपालिका–९ को रिक्त पदका लागि नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), र राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारी घोषणा गरेका हुन्।
त्रियुगा नगरपालिका–१२ मा नेपाली कांग्रेसले सञ्जीव काफ्लेलाई वडाध्यक्षका लागि उम्मेदवार बनाएको छ भने एमालेले लक्ष्मी नारायण चौधरीलाई, माओवादी केन्द्रले नविक वान्तावालाई, एकीकृत समाजवादीले निर्मला चौधरीलाई र राष्ट्रिय स्वतन्त्र पार्टीले ध्रुव पोखरेललाई उम्मेदवारका रूपमा अघि सारेका छन्। यस वडामा तीन हजार ८०० मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
त्यसैगरी, बेलका नगरपालिका–९ को वडाध्यक्ष पदका लागि कांग्रेसले नवराज बस्नेत, एमालेले मनोज खड्का, माओवादी केन्द्रले भरत घिमिरे र राष्ट्रिय स्वतन्त्र पार्टीले तेजमान विकलाई उम्मेदवारका रूपमा प्रस्तुत गरेका छन्। एकीकृत समाजवादीले भने दुई दिनभित्र आफ्ना उम्मेदवारको नाम घोषणा गर्ने बताएको छ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार त्रियुगा नगरपालिका–१२ मा तीन हजार ८०० मतदाता छन् भने बेलका नगरपालिका–९ मा तीन हजार ४०० मतदाता रहेका छन्। राजनीतिक दलहरूले उम्मेदवारहरूको नाम घोषणा गरेसँगै निर्वाचनको तयारी तीव्र रुपमा अगाडि बढिरहेको छ।































