पोखरा, ५ चैत्र। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार राति टोखा नगरपालिका–२ झोर सडक खण्डबाट २५ करोड रुपैयाँबराबरको विदेशी मुद्रा बरामद गरेको छ। रसुवातर्फ लैजान लागिएको उक्त रकमसहित सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–१ का कुसाङ लामा पक्राउ परेका छन्।

अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेशकुमार बस्नेतलाई एक नचिनेको नम्बरबाट ‘ना ७ ख १६५२’ नम्बरको डिब्बा ट्रकमा करोडौं रुपैयाँ रसुवातर्फ लगिँदैछ भन्ने सूचना प्राप्त भएपछि प्रहरीले विशेष टोली परिचालन गरेको थियो। डीएसपी अनिल घिमिरेको नेतृत्वमा गएको टोलीले ट्रकलाई टोखामा रोकी खानतलासी गर्दा क्याबिनको माथिल्लो भागमा फल्सबटम बनाई लुकाइएका डलर र यूरो फेला परेको हो।

प्रहरीका अनुसार बरामद रकममध्ये ३ लाख ११ हजार ९०० अमेरिकी डलर १०० दरको तथा ८ हजार ९५० डलर ५० दरको छ। त्यस्तै, ५ सय, २ सय, १ सय र ५० दरका गरी जम्मा १३ लाख ७५ हजार १५० यूरो पनि फेला परेको छ। हालको विनिमय दरअनुसार यस रकमको नेपाली मूल्य २५ करोड १९ लाख २४ हजार ९५० रुपैयाँ हुन आउँछ।

अनुसन्धानका क्रममा पक्राउ परेका लामाले आफू भरिया मात्रै भएको बयान दिएका छन्। उनले पैसा चिनियाँ नागरिकले दिएको दाबी गरे पनि प्रहरी यसलाई शंका गरेको छ। प्रहरीका अनुसार लामा यसअघि पनि २०७३ पुस १३ गते ७ किलो सुन तस्करीको आरोपमा पक्राउ परी ५ वर्ष जेल सजाय भुक्तान गरी २०७८ मा छुटेका थिए। जेलमुक्त भएपछि पनि उनले अवैध सुन कारोबारमा संलग्नता जारी राखेको देखिन्छ।

अनुसन्धान कार्यालयका प्रमुख एसएसपी बस्नेतका अनुसार यो रकम अवैध सुन कारोबारका लागि चीनतर्फ लगिँदै थियो। उनले भने, “पैसा कसको हो भन्ने यकिन भइसकेको छैन, तर अनुसन्धानका आधारमा हामी प्रस्ट छौं कि यो रकम केरुङ हुँदै सुन खरिदका लागि लगिदै थियो।”

प्रहरीले अब यस घटनामा संलग्न अन्य व्यक्ति र गिरोहको पहिचान गरी कानुनी कारबाही अघि बढाउने तयारी गरेको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0