पोखरा, १२ चैत। आशुतोष शर्माको आक्रामक ब्याटिङले दिल्ली क्यापिटल्सलाई इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोमाञ्चक जित दिलाएको छ। सोमबार भएको खेलमा दिल्लीले लखनउ सुपर जायन्ट्सलाई १ विकेटले पराजित गरेको हो। लखनउले दिएको २१० रनको लक्ष्य दिल्लीले ३ बल बाँकी छँदा ९ विकेट गुमाएर पूरा गर्यो।

दिल्लीको इनिङ्सको अन्त्यतिर खेल निकै रोमाञ्चक बनेको थियो। अन्तिम ३ ओभरमा ३९ रन आवश्यक रहँदा लगातार विकेट पतन भएपछि आशुतोषले संयमित तर आक्रामक ब्याटिङ गर्दै टोलीलाई जिताए। उनी ६६ रनमा अविजित रहे भने विप्राज निगमले ३९ रनको योगदान दिए। दुबै जनाले सातौं विकेटका लागि ५५ रनको महत्वपूर्ण साझेदारी गरे।

यसअघि, दिल्लीले सुरुवातमै ३ विकेट गुमाएको थियो। तर, अक्षर पटेल, फाफ डु प्लेसी र ट्रिस्टन स्टब्सले केहीबेर सम्हाल्ने प्रयास गरे। स्टब्सले ३४, डु प्लेसीले २९ तथा अक्षरले २२ रन बनाए। लखनउका शार्दुल ठाकुर, मनिमरन सिद्धार्थ, दिग्वेश राथी र रवि विश्नोइले समान २-२ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ८ विकेट गुमाउँदै २०९ रन बनाएको थियो। निकोलस पूरनले सर्वाधिक ७५ तथा मिचेल मार्शले ७२ रनको उत्कृष्ट इनिङ्स खेलेका थिए। दिल्लीका मिचेल स्टार्कले ३ विकेट लिए भने कूलदीप यादवले २ तथा मुकेश कुमार र विप्राज निगमले १-१ विकेट लिए।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0