७ जेठ, काठमाडौं। म्यानचेस्टर सिटीले प्रिमियर लिग २०२५ मा उत्कृष्ट प्रदर्शन गर्दै बर्नमाउथलाई ३–१ ले पराजित गरेको छ। यस जितसँगै सिटी तालिकाको तेस्रो स्थानमा उक्लिएको छ र आगामी सिजनको युएफा च्याम्पियन्स लिग का लागि छनोट हुने सम्भावना बलियो बनाएको छ।
ब्रुएनाको घरेलु मैदानमा अन्तिम खेल
यो खेल सिटीका स्टार मिडफिल्डर केभिन डे ब्रुएनाको लागि विशेष रह्यो, किनकि यो घरेलु मैदानमा उनको अन्तिम खेल थियो। सिजनपछि क्लब छाड्ने तयारीमा रहेका ब्रुएनाले इमोसनल वातावरणमा खेले पनि गोल गर्ने अवसर चुकाएका थिए।
गोलको क्रम
सिटीका लागि ओमार मार्मुसले १४औं मिनेटमा खेलको खाता खोले। त्यसपछि बर्नार्डो शिल्भाले ३८औं मिनेटमा अग्रता दोब्बर पार्दा, निको गोन्जालेजले ८९औं मिनेटमा गोल गर्दै जित सुनिश्चित गरे। बर्नमाउथका जेबिसनले इन्जुरी टाइममा एक सान्त्वना गोल फर्काएका थिए।
रातो कार्ड र खेलको उतारचढाव
खेलमा दुवै टिमका एक–एक खेलाडीले रातो कार्ड पाएपछि दुबै टोली १० खेलाडीमा सीमित भएका थिए। सिटीका माटेओ कोभासिसले ६७औं र बर्नमाउथका लेविस क्कले ७३औं मिनेटमा रातो कार्ड पाए।
अंकतालिका स्थिति
यो जितसँगै म्यानचेस्टर सिटीले ३७ खेलमा ६८ अंक जोडेको छ। अब उनीहरू तेस्रो स्थानमा रहँदै च्याम्पियन्स लिग होडमा अगाडि छन्। यस्तै, न्युकासल, चेल्सी, र एस्टन भिल्लासँग ६६ अंक छ भने नटिङहम फरेस्टसँग ६५ अंक छ। शीर्ष पाँच स्थानका लागि तीव्र प्रतिस्पर्धा चलिरहेको छ। लिभरपुल र आर्सनलले भने च्याम्पियन्स लिगका लागि स्थान पहिल्यै पक्का गरिसकेका छन्।






























