२९ कात्तिक, काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे छलफल गर्न प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक आह्वान गरिएको छ। बैठक आगामी आइतबार बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने जनाइएको छ। बैठकमा प्रधानमन्त्री ओलीको आगामी चीन भ्रमणका प्रमुख विषयहरू, जस्तै बीआरआई कार्यान्वयन योजनामा हस्ताक्षरको तयारी लगायतका बिषयमा छलफल हुने अपेक्षा गरिएको छ।
समिति सचिवालयका अनुसार प्रधानमन्त्री ओलीलाई समितिमा उपस्थित गराउने प्रयास भइरहेको छ। साथै, परराष्ट्रमन्त्री आरजु राणालाई पनि बैठकमा बोलाइएको छ। प्रधानमन्त्री ओली आगामी मंसिर १७ गते चीनको पाँचदिने औपचारिक भ्रमणमा जानेछन्, जसको मुख्य उद्देश्य बीआरआई (बेल्ट एन्ड रोड इनिसिएटिभ) परियोजनामा हस्ताक्षर गर्नु रहेको बताइएको छ।
बीआरआई सम्बन्धी विषयमा अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा यसअघि पनि छलफलहरू भइरहेका छन्। विशेषगरी, बीआरआई अन्तर्गत ऋण लिने वा अनुदानमात्र लिने भन्ने विषयमा विभिन्न दलका सांसदहरूको बीचमा असहमतिहरू छन्। नेपाली कांग्रेसका सांसदहरूले बीआरआई अन्तर्गत केवल अनुदान लिनुपर्नेमा जोड दिएका छन् भने, केही अन्य सांसदहरूले ऋण लिने पक्षमा तर्क गरेका छन्।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि लिएको चिनियाँ ऋण मिनाहा गर्ने विषयमा पनि छलफल गरिएको थियो। यी सबै विषयमा सरकारले कस्तो नीति अपनाउने हो भन्ने कुरा बुझ्न र आवश्यक सुझाव दिनका लागि यो बैठक आह्वान गरिएको हो।




























