३ मंसिर, पोखरा। रेडियो नेपाल गण्डकी प्रादेशिक प्रसारण कार्यालयकी नवनियुक्त प्रमुख शान्ति गुरुङले सोमबार पदभार ग्रहण गरेकी छिन्। निवर्तमान प्रमुख सुरेन्द्रप्रसाद यादवको केन्द्रीय कार्यालयमा सरुवा भएपछि कार्यालयका कर्मचारीहरूको उपस्थितिमा गुरुङले जिम्मेवारी सम्हालेकी हुन्।
रेडियो नेपालमा २७ वर्षअघि सहसमाचार वाचकका रूपमा प्रवेश गरेकी गुरुङ यसअघि वरिष्ठ सम्पादक थिइन्। समाजशास्त्र र आमसञ्चारमा स्नातकोत्तर गरेकी गुरुङ लोकगायनमा पनि स्थापित छिन्। उनी प्रादेशिक प्रसारण कार्यालय पोखराकी पहिलो महिला प्रमुख बनेकी छन्।
पदभार ग्रहण गर्दै गुरुङले रेडियो नेपाललाई सीमित स्रोतसाधनका बाबजुद अझ स्थापित र लोकप्रिय बनाउने प्रतिबद्धता व्यक्त गरिन्। उनले यस अघिका प्रमुखहरूले सुरु गरेका राम्रा कामलाई निरन्तरता दिने र आवाजविहीनहरूको आवाज बनेर काम गर्ने वाचा गरिन्।
रेडियो नेपाल प्रादेशिक कार्यालय पोखरामा हाल २८ जना कर्मचारी कार्यरत छन्। यो कार्यालयअन्तर्गत मुस्ताङको जोमसोम, गुल्मीको रेसुङ्गा, पाल्पाको बगनास, पर्वतको दुर्लुङकोट र तनहुँको बन्दीपुरमा रिले केन्द्रहरू सञ्चालनमा छन्। गुरुङको नेतृत्वमा कार्यालयले थप प्रभावकारी सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ।




























