१५ मंसिर, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका क्रममा नेपाल र चीनबीच द्विपक्षीय सम्झौता र समझदारीका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका प्रवक्तासमेत रहेका सहसचिव कृष्णप्रसाद ढकालका अनुसार, भ्रमणका दौरान कनेक्टिभिटी, व्यापार, लगानी, पर्यटन, पूर्वाधार विकास, कृषि लगायतका क्षेत्रमा सहयोग विस्तार गर्ने विषयमा छलफल हुनेछ।

सहसचिव ढकालले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतका परियोजनाहरूको बारेमा पनि छलफल भइरहेको बताए। उनले भने, “यो भ्रमणले नेपाल र चीनबीचको सम्बन्ध थप बलियो बनाउने विश्वास लिएको छ। सहयोगका विभिन्न क्षेत्रहरूमा सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउन यो भ्रमणले मद्दत गर्नेछ।”

प्रधानमन्त्री ओली चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा सोमबार चीन भ्रमणमा जाँदैछन्। भ्रमणका लागि सरकारी र निजी क्षेत्रबाट ८७ सदस्यीय टोली सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

नेपाल र चीनबीच लामो समयदेखि विविध क्षेत्रहरूमा सहकार्य हुँदै आएको छ। यो भ्रमणले दुवै देशबीचको सम्बन्धलाई थप सुदृढ गर्ने विश्वास गरिएको छ। साथै, बीआरआईलगायत महत्वपूर्ण परियोजनाहरूलाई अघि बढाउने सन्दर्भमा यो भ्रमणले ठोस उपलब्धि ल्याउने अपेक्षा गरिएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0