पोखरा, मङ्सिर १५ – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) कास्कीले आगामी मङ्सिर २५ गतेदेखि २८ गतेसम्म पोखरा रङ्गशालामा १४औं नेसनल प्याब्सन खेलकुद महोत्सव-२०८१ आयोजना गर्न लागेको छ। यस महोत्सवमा ४६ भन्दा बढी विद्यालयका लगभग ८,५०० खेलाडीहरूले विभिन्न खेलकुद प्रतिस्पर्धामा भाग लिनेछन्।

नेसनल प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा महोत्सवको उद्देश्य र योजनाबारे जानकारी दिएका छन्। महोत्सवको मूल नाराका रूपमा यस वर्ष “एन प्याब्सन कास्कीको इच्छा: विद्यालय तहमा खेलकुद सहितको शिक्षा” चयन गरिएको छ। अध्यक्ष अधिकारीले भने, “खेलकुद भनेको मात्र मनोरञ्जनको साधन होइन, यसले विद्यार्थीहरूको शारीरिक र मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्दछ। यस महोत्सवले खेलकुदको माध्यमबाट विद्यार्थीहरूको क्षमता र प्रतिभा बाहिर ल्याउने अवसर प्रदान गर्नेछ।”

पछिल्लो समय शैक्षिक प्रणालीमा खेलकुदको महत्त्वलाई अत्यधिक जोड दिँदै, नेसनल प्याब्सन कास्कीले खेलकुदको विकासलाई विद्यार्थीहरूको समग्र विकासको लागि आवश्यक मान्दछ। कोरोनाभन्दा अघि र पछिका चुनौतीपूर्ण समयमा पनि, नेसनल प्याब्सन कास्कीले आफ्ना सदस्य विद्यालयहरूको शैक्षिक र सहक्रियात्मक कार्यक्रमहरूलाई निरन्तर अघि बढाएको अध्यक्ष अधिकारीले जानकारी गराए ।

यसबाहेक, महोत्सवमा विभिन्न विधामा प्रतिस्पर्धा हुने छ। जूनियर स्तरमा कक्षा १ देखि ७ सम्मका विद्यार्थीहरूले १०० मिटर, २०० मिटर, ४०० मिटर, १००×४ मिटर रिले, लामो जम्प , उच्च जम्प, ह्यान्डबल, ब्याडमिन्टन, टेबल टेनिस र अन्य खेलहरूमा प्रतिस्पर्धा गर्नेछन्। सिनियर स्तरमा कक्षा ७ देखि १० सम्मका विद्यार्थीहरूले १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर, १००×४ मिटर रिले, लामो जम्प, उच्च जम्प, फुटबल, भलिबल, बास्केटबल, क्रिकेट, रोड रेस (५ किमि) जस्ता खेलहरूमा प्रतिस्पर्धा गर्नेछन्। यस महोत्सवमा एथलेटिक्सका खेलका साथै, फुटबल, बास्केटबल, क्रिकेट लगायतका समूह खेलहरू पनि खेलाइने छन्।

यस खेलकुद महोत्सवमा लगभग ८,५०० खेलाडीहरू भाग लिनेछन्, जसमा ४६०० छात्र र ३९०० छात्रा सहभागी हुनेछन्। प्रतिस्पर्धामा भाग लिने छात्र-छात्राहरूलाई क्रमशः स्वर्ण, रजत र कास्य पदक प्रदान गरिनेछ। कुल ९२९ विद्यार्थीलाई पुरस्कृत गरिने अनुमान गरिएको छ, जसमा २५१ स्वर्ण पदक, २५१ रजत पदक र ४२७ कास्य पदक वितरण गरिने छन्।

सञ्चालन हुने खेलकुद महोत्सवको उद्देश्य भनेको विद्यार्थीहरूको शारीरिक र मानसिक विकासका लागि खेलकुदको महत्त्वलाई पुष्टि गर्नु मात्र नभई, आगामी भविष्यका खेलकुदका कर्णधारहरूलाई तयार गर्नु हो। यस महोत्सवमा सहभागी हुने सबै विद्यालयका खेलकुद प्रेमीहरू, शिक्षक र अभिभावकहरूले यस खेलकुद कार्यक्रमको अवलोकन गर्ने अपेक्षा गरिएको छ, जसको कारणले गर्दा यस महोत्सवको दर्शक संख्या एक लाखभन्दा बढी पुग्ने अनुमान गरिएको छ।

यही मङ्सिर २५ गतेदेखि पोखरा रङ्गशालामा आयोजित खेलकुद महोत्सवको उद्घाटन समारोहको प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी हुनेछन्। महोत्सवको समापन मङ्सिर २८ गते शुक्रवार दिउँसो ११ बजे पोखरा रङ्गशालामा हुने कार्यक्रमसँगै हुनेछ।

यस महोत्सवको लागि ३५ लाख रुपैयाँ खर्च अनुमान गरिएको छ र यसका लागि विभिन्न समितिहरूको गठन गरिएको छ। प्रचार प्रसार, मञ्च सजावट, पुरस्कार व्यवस्थापन, खेलकुद समन्वय, सुरक्षा व्यवस्था लगायतका उपसमितिहरूको समन्वयमा यस कार्यक्रमलाई व्यवस्थित र उत्कृष्ट ढंगले सञ्चालन गर्न लागिएको छ।

१४औं नेसनल प्याब्सन खेलकुद महोत्सव-२०८१ को सफलताका लागि एक मुल समिति र विभिन्न उपसमितिहरू गठन गरिएको छ। मुख्य समितिको संयोजक नेसनल प्याब्सन कास्कीका अध्यक्ष श्री हेमन्त अधिकारी नै रहेको जानकारी गराए। समितिका अन्य सदस्यमा श्री याम खड्का, श्री ज्ञानेन्द्र मोहन भट्टराई, श्री राम बहादुर मोची, श्री राम बहादुर थापा, श्री शिवदत्त तिवारी, श्री मनकाजी गुरुङ, श्री प्रेमराज अधिकारी, श्री राजु केसी, श्री केशवशरण पौडेल, श्री रमेश राज पौडेल, श्री अर्जुन प्रसाद अधिकारी, श्री ज्ञानेन्द्र बहादुर थापा, श्री अर्जुन प्रसाद पाण्डे, श्री राजु कायस्थ, श्री तोलाकान्त न्यौपाने, श्री शिवराज पौडेल, श्री हरिराज अधिकारी, श्री विक्रम सुवेदी, श्री विकल पौडेल, र श्री वेद कुमार श्रेष्ठ प्रमुख सदस्यहरू रहेका छन्।

साथै, यस महोत्सवलाई व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि विभिन्न उपसमितिहरू पनि गठन गरिएको छ। प्रचार प्रसार उपसमितिको संयोजक श्री प्रेमराज अधिकारी, जसको सदस्यमा श्री अमबहादुर रेग्मी, श्री विष्णुहरी पौडेल र श्री सब्जीव पौडेल छन्। खेलकुद समन्वय उपसमितिको संयोजकको रूपमा श्री राजु कायस्थ कार्यरत छन् भने मञ्च सजावट र साउण्ड सिस्टमको संयोजक श्री दिपु भारी, स्वास्थ्य उपचार व्यवस्थापन उपसमितिको संयोजक श्री हरिराज अधिकारी र न्यायिक छानबिन तथा निर्णायक उपसमितिको संयोजक श्री हेमन्त अधिकारी चयन भएका छन्। अन्य विभिन्न समितिका संयोजकहरूको समन्वयमा खेलकुद महोत्सवको तयारी पुरा भएको जानकारी चौधों नेसनल प्याब्सन खेलकुद महोत्सव-२०८१ संयोजक तथा संस्थाका अध्यक्ष हेमन्त अधिकारी ले गराए ।

प्रदेश खेलकुद परिषद् का तेज बहादुर गुरुङको प्रमुख आतित्यथामा सञ्चालन भएको पत्रकार सम्मेलनमा अतिथी नेसनल प्याब्सन गण्डकी प्रदेश अध्यक्ष राम बहादुर मोची रहेका थिय । पत्रकार सम्मेलन मै रनिङ्ग सिल्ड अनावरण पनि गरिएको थियो । रनिङ्ग सिल्ड ५० तोला बढी चाँदिको रहेको र अहिलेको बजार मुल्यमा एक लाख पच्चिस हजरा रुपैयाँ बढीको रहेको जानकारी अध्यक्ष हेमन्त अधिकारी ले गराएका थिए।

 

 

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0