काठमाडौं, पुस ६ – जनकपुर बोल्ट्सले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको उपाधि जित्न सफल भएको छ। उच्च स्कोरको रोमाञ्चक फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले पराजित गर्दै जनकपुर च्याम्पियन बनेको हो। त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनल खेलमा १८५ रनको लक्ष्य जनकपुरले चार बल बाँकी छँदै पूरा गर्यो।

सुदूरपश्चिमले दिएको लक्ष्यलाई पछ्याउँदै जनकपुरले सुरुदेखि नै आक्रामक ब्याटिङको प्रदर्शन गर्यो। जनकपुरका लागि लाहिरु मिलान्था खेलका नायक बने। उनले ४९ बलमा ९ चौका र ४ छक्काको मद्दतले ८७ रन बनाए। पहिलो विकेटका लागि उनले कप्तान आसिफ शेखसँग ७३ रनको साझेदारी गरेका थिए। कप्तान शेखले १९ बलमा ४ चौका र २ छक्काको सहयोगमा ३३ रन बनाए। मिलान्थाको उत्कृष्ट प्रदर्शनले जनकपुरलाई जिततर्फ डोर्‍याउन महत्त्वपूर्ण योगदान गर्‍यो।

जनकपुरको जवाफी ब्याटिङमा हर्शक थाकरले पनि उल्लेखनीय भूमिका निर्वाह गरे। उनले २४ बलमा २ छक्का प्रहार गर्दै अविजित ३० रन बनाए। विजयी रन प्रहार गर्ने मयन यादव २ रनमा अविजित रहे। यद्यपि, जनकपुरका केही ब्याट्सम्यानले योगदान दिन नसक्दा खेल केही चुनौतीपूर्ण बनेको थियो। मोहम्मद मोहसिन ९ रनमा आउट भए भने जिमी नीशम ४ रनमा सीमित रहे।

सुदूरपश्चिमको बलिङतर्फ स्कट कुगेलेइन, कप्तान दीपेन्द्र सिंह ऐरी, सैफ अली जैब र इशान पाण्डेले समान १–१ विकेट लिए। तर, जनकपुरको आक्रमक ब्याटिङका अगाडि सुदूरपश्चिमका बलरहरू असफल साबित भए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १८४ रनको चुनौतीपूर्ण स्कोर खडा गरेको थियो। सुदूरपश्चिमका लागि ओपनर सैफ अली जैबले उत्कृष्ट प्रदर्शन गर्दै ४३ बलमा ८ चौका र २ छक्काको मद्दतले ६९ रन बनाए। अर्का ओपनर विनोद भण्डारीले पनि राम्रो प्रदर्शन गर्दै ३१ बलमा ४१ रन जोडे। जैब र भण्डारीले पहिलो विकेटका लागि १२ ओभरमा ११७ रनको सशक्त साझेदारी गरेका थिए। तर, मिडल अर्डर र लोअर अर्डरले सोचेअनुरूप प्रदर्शन गर्न नसक्दा सुदूरपश्चिमले अन्तिम दुई ओभरमा पाँच विकेट गुमाएको थियो।

जनकपुरको बलिङतर्फ किशोर महतो र मोहम्मद मोहसिनले समान ३–३ विकेट लिए। ललित राजवंशीले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १ मेडन राख्दै मात्र १५ रन खर्चेर १ विकेट लिए। प्रतियोगिताभर सर्वाधिक १७ विकेट लिने बलरको सूचीमा ललित र स्कट कुगेलेइन संयुक्त रूपमा अगाडि छन्।

फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका लाहिरु मिलान्था नेपाल प्रिमियर लिगका सर्वाधिक रन बनाउने खेलाडी घोषित भए। उनले प्रतियोगिताभर १० खेलमा २९३ रन बनाए, जसमा दुई अर्धशतक समावेश छन्।

यो उपाधिसँगै जनकपुर बोल्ट्सले पहिलो संस्करणको एनपीएललाई सम्झनलायक बनाएको छ। सुदूरपश्चिमलाई लिग चरण र क्वालिफायर वानमा पराजित गर्न नसकेको जनकपुरले अन्ततः फाइनलमा शानदार प्रदर्शन गर्दै च्याम्पियन बन्न सफल भयो। क्रिकेटप्रेमीहरूको लागि यो फाइनल खेल निकै रोमाञ्चक र अविस्मरणीय बन्यो।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0