पोखरा। यस हिउँदको दोस्रो मुख्य पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशभर मौसममा फेरबदल हुने देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रवार अपराह्नदेखि शनिवारसम्म सुदूरपश्चिम, कर्णाली र उच्च हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात र केही स्थानमा वर्षा हुने सम्भावना रहेको छ। यो प्रणालीको असरले देशभर चिसो बढ्ने अनुमान गरिएको छ।
विभागका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले पुस १२ र १३ को प्रणालीले केही उल्लेख्य वर्षा गराउने र यसको प्रभाव देशव्यापी हुने बताइन्। सुदूरपश्चिम र कर्णालीका पहाडी तथा तराईका केही स्थानमा हल्का पानी पर्ने संभावना रहे पनि कोशी र बागमती प्रदेशको तराईतिर वर्षा हुने सम्भावना भने कम रहेको मानन्धरको भनाइ छ।
पश्चिमी वायु प्रणाली हिउँदमा वर्षाको मुख्य स्रोत हो। सामान्यतया, हिउँदको तीन महिनामा पाँचदेखि सातवटा उल्लेख्य पश्चिमी प्रणाली सक्रिय हुने गर्छन्। तर गत वर्षजस्तै यो हिउँद पनि सुक्खा हुने अनुमान गरिएको छ। विभागकी वरिष्ठ मौसमविद् विभूति पोखरेलका अनुसार यस वर्ष सरदरभन्दा कम वर्षा र बढी तापक्रमको अनुमान गरिएको छ।
शनिवार हिमाली क्षेत्रमा मध्यम हिमपात र अन्य ठाउँमा हल्का वर्षाको सम्भावना रहेकाले चिसोमा वृद्धि हुने देखिएको छ। देशभर बादल लाग्ने भएकाले तापक्रम घट्ने अवस्था रहेको मौसम विभागको पूर्वानुमान छ।
नेपालमा डिसेम्बरदेखि जनवरी महिनामा सरदर ६० मिलिमिटर वर्षा हुने अवस्था सामान्य मानिन्छ। तर पछिल्ला वर्षहरूमा हिउँद अत्यन्त सुक्खा रहँदै आएको छ। विसं २०८० को हिउँदमा जम्मा २१ प्रतिशत अर्थात् १२.५ मिलिमिटर मात्र वर्षा भएको थियो। यस वर्ष पनि त्यस्तै परिस्थिति दोहोरिने प्रक्षेपण गरिएको छ।
जलवायु परिवर्तन र स्थानीय प्रणालीको प्रभावले हिउँदको सुक्खा अवस्था थप गम्भीर बन्दै गएको छ। तराई क्षेत्रमा हुस्सु र तुँवालोका कारण उडानहरूमा अवरोध र स्वास्थ्य समस्या बढ्ने देखिएको छ।
विगतका तीन दशकको औसत हेर्दा, नेपालमा ८० प्रतिशत वर्षा मनसुन अवधिमा हुने गर्छ। हिउँदमा भने पश्चिमी वायु प्रणाली नै प्रमुख वर्षा गराउने तत्व मानिन्छ। यद्यपि, पछिल्ला केही वर्षमा यस्तो प्रणाली पनि कमजोर बन्दै गएको देखिएको छ।
यसपटकको नयाँ वर्षा प्रणालीले देशभरि चिसो थप्न सक्ने र उच्च हिमाली क्षेत्रमा हिमपात गराउने अनुमान गरिएको छ। सामान्य हिउँद यामको तुलनामा सरदर वर्षा कम हुने र चिसोको प्रभाव लामो समयसम्म रहने देखिएको छ।




























