वासिङ्टन, पुस १४। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी २० मा हुने आफ्नो सपथ ग्रहणअघि चिनियाँ स्वामित्वमा रहेको टिकटकलाई बिक्री नगरे प्रतिबन्ध लगाउने निर्णय रोक्न सर्वोच्च अदालतमा निवेदन दिएका छन्। शुक्रबार दर्ता गरिएको निवेदनमा ट्रम्पको कानुनी टोलीले मुद्दाको नवीनता र जटिलताका कारण थप समय आवश्यक रहेको भन्दै वैधानिक समयसीमा स्थगन गर्न आग्रह गरेका हुन्।
ट्रम्पले आफ्नो पहिलो कार्यकालमा टिकटकको कडा आलोचना गरेका थिए। उनले राष्ट्रिय सुरक्षालाई कारण देखाउँदै टिकटकलाई प्रतिबन्ध लगाउने प्रयास गरेका थिए। रिपब्लिकन नेताहरूले चिनियाँ सरकारले टिकटकमार्फत अमेरिकी प्रयोगकर्ताको तथ्याङ्क चोर्न सक्ने र सामग्रीमा हेरफेर गर्न सक्ने भन्दै गम्भीर चिन्ता व्यक्त गरेका थिए।
युवामाझ लोकप्रिय यो भिडियो शेयरिङ एपलाई प्रोपोगान्डा फैलाउन प्रयोग गरिएको आरोप पनि लगाइएको छ। ट्रम्पले टिकटकलाई एक अमेरिकी कम्पनीलाई बिक्री गर्न प्रस्ताव गरेका थिए। तर, समयक्रममा ट्रम्पको धारणा परिवर्तन भएको छ। ब्लुमबर्गसँगको अन्तर्वार्तामा उनले अहिले आफू टिकटकको पक्षमा रहेको बताए।
उनले टिकटकको अस्तित्वले सामाजिक सञ्जालमा प्रतिस्पर्धा कायम रहने र मार्क जुकरबर्गको फेसबुक तथा इन्स्टाग्रामको एकाधिकार रोक्न मद्दत गर्ने बताए। जुकरबर्गको फेसबुक र मेटा साम्राज्यले ट्रम्पमाथि हिंसा भड्काउने आशङ्कामा प्रतिबन्ध लगाएको थियो। पछिल्लोपटक सामाजिक सञ्जालमा ट्रम्पमाथि लगाइएको प्रतिबन्ध हटाइएको छ।



























